- ब्रह्मदेव यादव, विराटनगर ४१९ पटक हेरिएको
मंगलबार, चैत्र १४, २०७९ समय : १५:३१:४१ , २ वर्ष अगाडि
कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत पहिचानवादी पक्षधर र प्रहरी बिच मंगलबार विराटनगरमा दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा दुवै पक्षबाट १ दर्जनभन्दा बढि घाइते भएका छन् । विराटनगर स्थित बिग होटलमा सांसदहरु एक कार्यक्रममा सहभागि भएको बेला त्यसलाई लक्षित गरेर पहिचानवादी पक्षधर आन्दोलनकारीले गरेको प्रदर्शनलाई दबाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा दुवै पक्षबिच भिडन्त भएको हो ।
विराटनगर धरान सडक खण्डको रोडशेष चोकदेखि पाञ्चाली मोडसम्मको सडक खण्ड २ घण्टा भन्द बढि समयसम्म युद्ध मैदानमा परिणत भएको थियो । आन्दोलन र पहिचानवादी पक्षधर माथि प्रहरीले पानीको फोहोरा, अशु ग्यास र रब्बरको गोली प्रहार गरेका थिए भने आन्दोलनरत पहिचानवादी पक्षधरले ढुंगा गुलेली प्रहार गर्दै प्रतिकार गरेका थिए ।
दोहोरो भिडन्तको क्रममा सुरक्षाकर्मी र आन्दोलनरत पक्षधर १ दर्जन भन्दा बढिको संख्यामा घाइते भएका छन् । र त्यसको वास्तवीक तथ्याङ्क आउन बाँकी छ । पहिचानवादी पक्षधरले चैत्र ५ गते विराटनगरमा गरेको प्रदर्शनको क्रममा आन्दोलनकारी पदम लिम्बु घाइते भएका थिए । र उनको उपचारकै क्रममा चैत्र १० गते निधन भएको छ । पदम लिम्बुको मृत्यु पछि पहिचानवादी पक्षधरले आन्दोलनलाई तिब्र पारेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दिपक पोखरेलले आन्दोलनकारी र प्रहरीबिच भिडन्त भएको र कोही हाताहात नभएको बताए । कोशी प्रदेश सरकारले आन्दोलनकारीको मागलाई सम्बोधन गर्न लिम्बुलाई सहिद घोषणा गर्दै ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अध्यक्षतामा सोमबार बसेको मन्त्री परिषद्को बैठकले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले प्रदेश नं. १ लाई कोशी प्रदेश नामाकरण गरेको थियो । ९३ सदस्य प्रदेश सभामा कोशी प्रदेशको पक्षमा ८२ सांसदले मतदान गरेका थिए । ४ सांसदले कोशी प्रदेशको विपक्षमा मतदान गरेका थिए । बाँकी सांसद प्रदेश सभाको बैठकमा अनुपस्थित रहेका थिए । कोशी प्रदेश नामाकरण विरुद्ध पहिचानवादी पक्षधरले आन्दोलनलाई तिब्र पारेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडी माथि ओखलढुंगामा र नेकपा माओवादी कोशी प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर आङबोको गाडीमाथि पाँचथरमा आक्रमण गरिसकेको छ ।