- ब्रह्मदेव यादव, विराटनगर ४२६ पटक हेरिएको
बुधबार, कार्तिक ०१, २०८० समय : १६:५९:२७ , १२ महिना अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको छ । विपक्षमा ५ मत परेको हो । कोशी प्रदेश सभामा नेतृत्व गर्ने ६ मध्ये ५ राजनैतिक दलले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गरेको हो ।
नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरेर ८६ सांसदले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेको हो । कोशी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद रहेका छन् । जसमध्ये बुधबार पाँचथरका समानुपातिक सांसद प्रेमराज थाङसुहाङ्ग अनुपस्थित रहेका थिए । ५ सांसदले मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरे ।
बुधबार प्रदेश सभाको बैठकमा ९१ सांसदको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग मिलेर कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीलाई सत्तागठबन्धन ४ दलले समेत विश्वासको मत दिएको छ । शनिबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आइतबार मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका थिए । त्यसको २ दिनपछि बुधबार कोशी प्रदेश सभाबाट सहज रुपमा विश्वासको मत हासिल गरेका छन् ।
कोशी प्रदेशको राजनीतिक नयाँ कोषबाट अगाडि बढेको छ । सत्ताघटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको गठबन्धनले नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गरेको निर्णयलाई चुनौती दिदै मुख्यमन्त्री कार्कीले विद्रोह गरेका थिए ।
नेपाली कांग्रेस भित्र डा. शेखर कोइराला समूहले कोशी प्रदेशमा कार्कीलाई अगाडि सारेर विद्रोह गरको थिए । र नेकपा एमालेसँग मिलेर संघीय सरकारको प्रधानमन्त्री बन्ने डा. कोइरालाको इच्छा रहेको थियो । नेपाली कांग्रेस फुटको संघारमा पुगेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई फुटबाट जोगाउन विद्रोह गरेका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए । त्यही मुख्यमन्त्री कार्कीले बुधबार कोशी प्रदेश सभामा सहज रुपमा विश्वासको मत हासिल गरेको हो ।