नेपालको अर्थतन्त्र धराशायी हुनुमा घट्दो आयात निर्यात मुख्य कारण– राउत 

  • ब्रह्मदेव यादव, विराटनगर ४६४  पटक हेरिएको

सोमबार, माघ २९, २०८० समय : १५:१६:२६ , ९ महिना अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले नेपालको अर्थतन्त्र धराशायी हुनुमा घट्दो आयात निर्यात मुख्य कारण भएको बताउनु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा सोमबार विराटनगरमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको ६औं प्रदेश सभामा अध्यक्ष राउतले आयात निर्यात निरन्तर घट्दो क्रममा रहेकोले देशको अर्थतन्त्र माथि उठ्न नसकेको बताउनु भयो ।

नेपाल सरकारले बजेट मार्फत चालु आर्थिक वर्ष २०८०/०८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा ३.९ प्रतिशत मात्रै वास्तविक वृद्धिदर रहेकोले देशको लागि चिन्ताको विषय रहेको बताउनु भयो । सरकारले हटाएको आयत प्रतिबन्ध, पर्यटनमा फर्कदो उत्साह र मौद्रिक नीतिमा बढाइएको खुकुलोपनका कारण अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशतसम्म पुग्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको अध्यक्ष राउतले बताए ।

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (श्रावण–पौष) सम्मको अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । गत आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको व्यापार भएको थियो । गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ मा ३.४७ प्रतिशतले बस्तु व्यापार घटेको देखिन्छ ।

यसैगरी आयत व्यापार गतवर्षको तुलनामा ३.०९ प्रतिशतले घटेको छ भने निर्यात व्यापार गत वर्षको तुलनामा ७.२३ प्रतिशतले घटेको तथ्याङ्क अध्यक्ष राउतले सार्वजनिक गर्नु भएको छ । अध्यक्ष राउतले चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा विराटनगर भन्सार कार्यालयबाट आयात घटेको तथ्याङ्क सार्वजनिक गर्नु भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा विराटनगर भन्सार कार्यालयबाट बस्तुको आयात ८२ प्रतिशतले आयात भएको छ भने अघिल्लो आर्थिक वर्ष ९१ प्रतिशतले बस्तुको आयात भएको थियो । अध्यक्ष राउतले नेपालको जुनसुकै प्रदेशको जुनसुकै स्थानमा जुन सामग्रीका स्थानीय उत्पादन भई रहेको छ । 

त्यसलाई बजार प्रर्वद्धन गर्ने हो भने त्यही बस्तु दोस्रो तथा तेस्रो मुलुकबाट आयात भई रहेको छ भने त्यसमा २ सय देखि ३ सय प्रतिशतसम्म बढि भन्सार राजश्व कायम गरेर निरुत्साहित गरेको खण्डमा नेपाली उत्पादनको प्रर्वद्धन सँगै किसानको आयस्तर उन्नति हुने अध्यक्ष राउतले बताउनु भयो ।