सात महिला सम्मानित

  • चिरफार डटकम, विराटनगर ८९५  पटक हेरिएको

मंगलबार, चैत्र २७, २०८० समय : १६:१४:५६ , ६ महिना अगाडि

सोमबार विराटनगरमा ७ जना प्रतिभावान महिलाहरू सम्मानित भएका छन् । नेपाल मारवाडी गणगौर पुजा समिति विराटनगरले सोमबार विराटनगरमा आयोजना गरेको ३७औं गणगौर पुजा महोत्सव २०८० मा सातै जना प्रतिभावान महिलालाई सम्मान गरेको हो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्य मन्त्री इन्दिरा थापा र नेपाल मारवाडी गणगौर पुजा समिति विराटनगरका अध्यक्ष उद्योगी नन्दकिशोर राठीले अनिता सोनी, इन्दिरा रिजाल, डा. मिनाक्षी नेपाल, दिक्षा अग्रवाल, डा. प्रिती अग्रवाल, राज्यलक्ष्मी अग्रवाल र कृति बोहरालाई सम्मान पत्रले सम्मान गरेको हो ।

सामाजिक, शैक्षिक, मेडिकल, सांगीतिक लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका प्रतिभावान् महिलालाई सम्मान गरिएको अध्यक्ष राठीले बताए । कार्यक्रममा फेन्सी प्रतियोगिता, सांस्कृतिक प्रतियोगिता, गणगौर कपल प्रतियोगिता आयोजना गरिएको थियो । डा. नुतन नौलखा र समाजसेवी अर्चना तापडियाको निर्णायक मण्डलले प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिलालाई कदर पत्रले सम्मान गरेका थिए । ५० वर्ष माथि उमेर समूहका १० भन्दा बढि महिला फेसन प्रतियोगितामा सहभागिता जनाएका थिए ।

मिलन नौलखा फेसन प्रतियोगिताको संयोजक रहेका थिए । कार्यक्रममा नेपाल मारवाडी परिषद्का उपाध्यक्ष समाजसेवी भिखमचन्द सरल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिका संयोजक महिला उद्यमी रचना राठी, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, गणगौर पुजा समिति धरानका अध्यक्ष अनिता अटल, गणगौर पुजा समिति विराटनगरका उपाध्यक्ष ललिता जाजु, समितिका संस्थापक अध्यक्ष मुलचन्द तापडिया कार्यक्रममा सहभागि भएका थिए ।