प्रहरी किन अपराधी समात्न मान्दैन ?

  • ब्रह्मदेव यादव, विराटनगर ४७१  पटक हेरिएको

आइतबार, बैशाख ०९, २०८१ समय : १२:५८:०८ , ६ महिना अगाडि

घटना घटेको १३ दिन बितिसक्दा मोरङ प्रहरी अपराधी पक्राउ गर्न मान्दैन । विराटनगर महानगरपालिका वडा नं. १४ का पीडित पक्षले इलाका प्रहरी कार्यालय रानीमा ज्यान मार्ने अभियोग मुद्दामा उजुरी दर्ता गराएको १३ दिन बितिसकेका छन् । तर इलाका प्रहरी कार्यालय रानी अपराधी पक्राउ गर्न मानिरहेका छैनन् । विराटनगर–१४ का पञ्चलाल यादव, उनका बुहारी ममता यादवले २०८१ बैशाख ५ गते इलाका प्रहरी कार्यालय रानीमा बालदेव यादव, दिपेश यादव, रविन यादव, फुलेश्वर यादव, शंकर यादव, राजेश यादव र उपेन्द्र यादवका विरुद्ध ज्यान मार्ने अभियोगमा लिखित उजुरी दर्ता गराएका छन् ।

अपराधीहरू खुलेआम विराटनगरमा घुमी रहेका छन् । तर प्रहरी अपराधीको खोजी भई रहेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजी रहेका छन् । यस विषयमा प्रहरी प्रति जनताको आक्रोश बढ्दो छ । बालदेव यादवको निर्देशनमा दिपेश यादव, फुलेश्वर यादव, रविन यादव, शंकर यादव, राजेश यादव र उपेन्द्र यादवले विराटनगर–१४ का सन्तलाल यादव र प्रकाश यादव माथि २०८० चैत्र २८ गते विराटनगर–१४ मा धारिलो हतियारले सामूहिक आक्रमण गरेका थिए ।

सामूहिक आक्रमणको कारण शरीरको विभिन्न भाग काटिएका सन्तलाल यादवको मोरङको बुढीगंगा गाउँपालिका स्थित विराट टिचिङ अस्पतालमा उपचार भई रहेको छ । र उनको बाच्ने अवस्था कम रहेको उनका श्रीमती ममता यादवले बताए । घाइते भएका प्रकाश यादव उपचार पछि घर फर्केका छन् । आन्तरिक कलहका कारण बालदेव यादव पक्षले सन्तलाल यादव र प्रकाश यादव माथि धारिलो हतियारले आक्रमण गरेका थिए ।

विराट टिचिङ अस्पतालमा जीवन मरणको संघारमा रहेका सन्तलाल यादवका श्रीमती ममता यादवले डेढ वर्षका छोरा सहित तीन सन्तान साथमा लिएर आइतबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न बालदेव यादव सहित आरोपीलाई अविलम्ब पक्राउ गरेर कारवाही गर्ने माग गरेका छन् । प्रहरी घटनाका मुख्य अभियोग कर्ता बालदेव पक्षसँग मिलेर घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।

विराटनगर–१४ का पूर्व वडाध्यक्ष बालदेव यादव यस अघि सेमानन्द यादवलाई कुटपिट गरेर मारेको अभियोगमा मुद्दा खेपीरहेका छन् । सेमानन्द यादव मृत्यु प्रकरणमा लामो समयसम्म भूमिगत जीवन बिताएका बालदेव यादव यतिखेर पुनः भूमिगत भएका छन् । उनलाई बचाउन राजनैतिक दलका नेताहरू लागि परेका छन् । राजनैतिक दलकै दबाबमा प्रहरी बालदेव पक्षलाई पक्राउ गर्न आलटाल गरिरहेका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी इन्स्पेक्टर संजिव बेल्वासेले घटनामा संलग्न एक जना अपराधी पक्राउ परिसेको बाँकीको खोजी जारी रहेको बताए ।