कुर्सीमा बसेपछि किन रोए अनुपम राठी

  • ब्रह्मदेव यादव, विराटनगर ९२७  पटक हेरिएको

मंगलबार, बैशाख २५, २०८१ समय : १४:४०:४७ , ५ महिना अगाडि

मोरङ उद्योग व्यापार संघको ३४औं अध्यक्षको रुपमा कुर्सीमा बसेपछि अनुपम राठी किन रोए प्रसंङ्गले निकै नै चर्चा पाएको छ । संघको निर्वाचनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि निवर्तमान अध्यक्ष नविन रिजालले सार्वजनिक समारोहमै अनुपम राठीको भनाई उद्रित गर्दै भने- १० वर्ष अगाडिको कुरा हो अनुपम राठीले एक दिन मलाई भनेका थिए । मेरो हजुर बुवा आशकरण राठी र बुवा नन्दकिशोर राठी संघमा अध्यक्षको कुर्सीमा बसीसकेका छन् ।

मलाई पनि एक दिन अध्यक्षको कुर्सीमा बस्न मन छ । रिजालको कुरा सुनेपछि अनुपम राठी कुर्सीमा बसेर केही बेर रोए । लगत्तै अनुपम राठीका बुवा संघका पूर्व अध्यक्ष नन्दकिशोर राठीले नवनिर्वाचित अध्यक्ष छोरा अनुपम राठीलाई फुलको गुच्छाले स्वागत गरे । संघमा अनुपम राठीका हजुरबुवा स्व. आशकरण राठी र बुवा नन्दकिशोर राठी अध्यक्ष पदको कुर्सीमा बसेर संघलाई अगाडि बढाउने गरी जिम्मेवारी पुरा गरी सकेका छन् ।

अब अनुपम राठी संघलाई अगाडि बढाउने जिम्मेवारी सम्हालेका छन् । र पाएको जिम्मेवारीलाई अनुपम राठीले पुरा गर्ने वाचा गरेका छन् । नवनिर्वाचित अध्यक्ष अनुपम राठीलाई निवर्तमान अध्यक्ष नविन रिजाल र पूर्व अध्यक्ष प्रकाश मुन्दडा, पवनकुमार सारडा, ताराचन्द खेतान, शंकरलाल अग्रवाल, देवेन्द्रराज गढियाले स्वागत गरेका थिए । मोरङ उद्योग व्यापार संघमा तीन पुस्ते अध्यक्षको रुपमा अनुपम राठीको प्रवेश भएको छ । निजी क्षेत्रको सबै भन्दा पुरानो संस्था मोरङ उद्योग व्यापार संघमा तीन पुस्ते राठी परिवारले अध्यक्ष पद सम्हालेको नयाँ रेकर्ड पनि कायम भएको छ ।