उपेन्द्र यादवले उपप्रधानमन्त्रीबाट दिए राजिनामा 

  • चिरफार डटकम, विराटनगर ३६९  पटक हेरिएको

सोमबार, बैशाख ३१, २०८१ समय : १८:५१:३२ , ५ महिना अगाडि

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजिनामा दिएका छन् । साथै यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा यादव उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका थिए ।

मधेस प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मन्त्रीले राजिनामा दिएपछि उपेन्द्र यादवले पनि नैतिकताको आधारमा संघीय सरकारको उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजिनामा दिएको हो । यादवले दिएको राजिनामा सोमबार नै संघीय सरकारले स्वीकृति गरेको छ । उपेन्द्र यादवले नेतृत्व गरी रहेको जनता समाजवादी पार्टी नेपाल दुई चिरामा विभाजित भएका छन् ।

विभाजित समूहले निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गराएका छन् । पार्टीको संसदीय दल र केन्द्रीय समितिका ४० प्रतिशतले दल विभाजन गरेको खण्डमा मात्रै निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने प्रावधान छ । तर निर्वाचन आयोगले संसदीय दललाई मात्रै आधार मानेर विभाजित समूहलाई नयाँ दल दर्ता गरेपछि त्यसका विरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जनता समाजवादी पार्टीका ७ जना सांसदले संघीय सरकारलाई समर्थन दिदै सोमबार नै उपेन्द्र यादवले राजिनामा दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।