बहिरा सम्बन्धी साङ्केतिक भाषाको गोष्ठी सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ३१२  पटक हेरिएको

बुधबार, माघ ०९, २०८१ समय : १५:५२:१८ , ३ हप्ता अगाडि

बहिरा सम्बन्धी साङ्केतिक भाषाको नयाँ शब्द सङ्कलन, सङ्केत निमार्ण र अनुमोदन तथा परिमार्जन विषयक कोशी प्रदेश स्तरीय गोष्ठी विराटनगरमा सुरु भएको छ । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बहिरा महासंघ नेपालको कोशी प्रदेश समिति विराटनगरले ३ दिने गोष्ठीको आयोजना गरेका छन् ।

बुधबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म चल्ने छ । बहिराहरूलाई सबै विषय वस्तुको बारेमा जानकारी गराउन ७ हजार शब्दको साङ्केतिक भाषाको आवश्यकता पर्दछ । तर बहिरा सम्बन्धी ४ हजार शब्द समेटिएको मात्रै साङ्केतिक भाषाको पुस्तक उपलब्ध छ । बहिरा सम्बन्धी ३ हजार साङ्केतिक शब्द गायब छ ।

जसको कारण बहिराहरूले दोभाषे मार्फत सबै कुराको जानकारी पाउन सकिरहेका छैनन् । बहिराको साङ्केतिक शब्दकोशबाट गायब भएको ३ हजार शब्दलाई समेटिनका लागि नेपाल बहिरा महासंघ नेपालको कोशी प्रदेश समिति विराटनगरले गोष्ठीको आयोजना गरेको हो । कोशी प्रदेश सरकारका सामाजिक विकाश मन्त्री पाचकर्ण राईले गोष्ठीको उद्घाटन गरेका छन् ।

नेपाल बहिरा महासंघ नेपाल कोशी प्रदेश समितिका अध्यक्ष सीताराम ओझाले कोशी प्रदेशमा बहिरालाई सबै विषयवस्तुको बारेमा जानकारी गराउन १५ जना दोभाषे रहेका छन् । १५ जना दोभाषेलाई वार्षिक रूपमा तलब दिन ७० लाख रुपैयाँको आवश्यकता पर्दछ । तर कोशी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत वार्षिक रूपमा ५० लाख रुपैयाँ विनियोजन गरिरहेका छन् ।

जुन अपर्याप्त रकम हो । जुन रकम निकासा गर्न कोशी प्रदेश सरकार आनाकानी गरिरहेकोले अब बहिराहरु बजेट निकासा नभएको खण्डमा कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडि धर्ना दिनु बाहेक अर्को विकल्प आफूहरू सँग नरहेको बताए ।