सारडा ग्रुपद्वारा रसुवाका बाढीपीडितलाई नगद १ करोड सहयोग

  • चिरफार डटकम, विराटनगर २१६  पटक हेरिएको

आइतबार, भाद्र १४, २०८३ समय : १३:४१:२१ , ३ घन्टा अगाडि

विराटनगरको सारडा ग्रुपले रसुवा जिल्लाको बाढीपीडित परिवारलाई नगद १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सारडा ग्रुपले स्थापना दिवसको अवसर पारेर रसुवाको बाढीपीडित परिवारलाई १ करोड रुपैयाँ सहयोग गर्न लागेको हो ।

सारडा ग्रुपका निर्देशक पवनकुमार सारडाले सोमबार काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राहत कोष मार्फत रसुवाको बाढीपीडित परिवारलाई नगद १ करोड रुपैयाँको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।

विराटनगरको निजी क्षेत्रको तर्फबाट सारडा ग्रुपका निर्देशक पवनकुमार सारडाले प्रदान गर्न लागेको नगद १ करोड रुपैयाँ अहिलेसम्मकै सबै भन्दा ठुलो रकम हो । सारडा ग्रुपले स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौँ र विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गर्‍यो ।

सारडा ग्रुपले काठमाडौँ र विराटनगरबाट १००–१०० पाउन्ट रगत संकलन गरेर नेपाल सरकार मार्फत रसुवा पठाउन लागेको निर्देशक पवनकुमार सारडाले बताए । सारडा ग्रुप सिरहाको लहानबाट विराटनगर बसाई सरेको ५० वर्ष भएको छ ।

सुनसरी, मोरङ औद्योगिक कोरिडोरमा चामल बाहेक सारडा ग्रुपले पशुपति सेलभेन्ट पहिलो उद्योग स्थापना गरेका थिए । सारडा ग्रुपले बिजुलीको तार, रिफाइन, बिस्कुट, चाउचाउ, मैदा, दाल, फलामको डण्डी, फलामको तार, लिकर्स लगायत दर्जनौँ उद्योग सञ्चालन गरिरहेका छन् । । सारडा ग्रुपले १० हजार भन्दा बढी कर्मचारी र मजदुरलाई रोजगारी उपलब्ध गराएको छ ।