बंगलादेश सेनाको नियन्त्रणमा

  • ब्रह्मदेव यादव, विराटनगर ४४२  पटक हेरिएको

सोमबार, साउन २१, २०८१ समय : १८:१९:५० , २ महिना अगाडि

बंगलादेश सेनाको नियन्त्रणमा छ । प्रधानमन्त्री शेख हसिनाले सोमबार राजिनामा दिएर बंगलादेश छोडेपछि सेनाले शासन व्यवस्था आफ्नो नियन्त्रणमा लिएको छ । आरक्षणको विषयलाई लिएर बंगलादेशमा हिंसा भडकेपछि सेनाले ४५ मिनेट भित्र प्रधानमन्त्री हसिनालाई राजिनामा दिन समय सिमा तोकेका थिए ।

सेनाले दिएको समय सिमा भित्र प्रधानमन्त्री हसिनाले राजिनामा दिएर बंगलादेश छोडेका छन् । बंगलादेशमा विद्यार्थीदेखि किसानसम्म सबै प्रधानमन्त्री हसिनाका विरुद्ध सडकमा उत्रिएका थिए । आन्दोलनकारीको आन्दोलन हिंसक बनेपछि सेनाले प्रधानमन्त्री हसिनालाई राजिनामा दिन अल्टिमेटम दिएका थिए ।

बंगलादेशका सेना प्रमुख वकर उज जमानले देशमा अन्तरिम सरकार गठन गर्ने तयारीमा जुटेका छन् । त्यसका लागि बंगलादेशमा रहेका सबै राजनैतिक दलसँग छलफल सुरु गरी सकेका छन् । प्रधानमन्त्री हसिना बंगलादेशबाट भारत हुँदै लण्डन पुग्ने कार्यक्रम रहेको छ ।