- चिरफार डटकम, विराटनगर १३७ पटक हेरिएको
बिहिबार, साउन २८, २०८३ समय : १५:३९:५१ , ३ घन्टा अगाडि
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्केका छन् । नेपाली कांग्रेसका संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकी सहित देउवालाई भव्य स्वागत गरेका थिए ।
नेपाली कांग्रेसका नेताहरू प्रकाशमान सिंह श्रेष्ठ, डा. संशाक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, डा. प्रकाश शरण महत, मीन विश्वकर्मा लगायतका नेताहरूले त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा देउवालाई स्वागत गरेका थिए ।
त्रिभुवन विमानस्थलमा नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूको भव्य स्वागत र सम्मानलाई ग्रहण गर्दै देउवाले आफू नेता होइन आजीवन नागरिकको हैसियतमा नेपाल फर्किएको बताए ।
नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका नेता र कार्यकताहरु धनगढी विमानस्थलबाट विमान चार्टर गरेर देउवालाई स्वागत गर्न त्रिभुवन विमानस्थल काठमाडौँ आइपुगेका थिए । २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा देउवा दम्पत्ती माथि कुटपिट गरेर उनको घरमा आगो लगाइएको थियो ।
पछि देउवा दम्पतीले आगलागीबाट क्षतिग्रस्त काठमाडौँ बुढानीलकण्ठको घर बिक्री गरेका थिए । हंकङ, थाइलेण्ड र सिंगापुरमा उपचार गराएर देउवा साढे पाँच महिनापछि नेपाल फर्केका छन् ।
देउवाका श्रीमती डा. आरजु राणा र छोरा जयवीर देउवा सिंगापुरमै रहेका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री देउवा काठमाडौँको महाराजगंज स्थित डेराको घरमा बस्ने जानकारी गराएका छन् ।