- चिरफार डटकम, विराटनगर ११८ पटक हेरिएको
शुक्रबार, साउन २२, २०८३ समय : १६:२३:१७ , २ घन्टा अगाडि
भारतको पश्चिमबंगाल राज्यको कलकत्ता बन्दरगाहबाट औद्योगिक कच्चा पदार्थ तथा दोस्रो तथा तेस्रो मुलुकको व्यापारी सामान बोकेर विराटनगर भन्सार कार्यालयसम्म आइपुग्ने कार्गो रेल सेवा ठप्प छ । रेल आउने की नआउने टुङ्गो नलागेसम्म उद्योगी व्यवसायी कार्गो रेल सेवाप्रति विश्वस्त हुन सकेको छैन ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले कार्गो रेल सेवा प्रभावकारी ढुवानी सेवा माध्यम बन्न नसक्दा उद्योगी–व्यवसायी कलकत्ताबाट विराटनगरसम्म सडक मार्गबाटै औद्योगिक तथा व्यापारिक सामान आयात गरिरहेको बताए ।
२०८३ साउन ४ गते कार्गो रेल सेवा के.एल. दुगड समूहको ४० कन्टेनर औद्योगिक कच्चा पदार्थ तोरी बोकेर कलकत्ताबाट विराटनगर आइपुगेका थिए ।
जुन कार्गो रेल सेवालाई विराटनगरको निजी क्षेत्रले भव्य स्वागत गरेका थिए । त्यसपछि कार्गो रेल सेवा ठप्प छ । र रेल आउने की नआउने टुङ्गो लाग्न नसकेको प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८० जेठ १८ गते संयुक्त रूपमा कार्गो रेल सेवाको उद्घाटन गरेका थिए ।
२०८० जेठ १८ गते पहिलो पटक कार्गो रेल कलकत्ताबाट विराटनगर आएका थिए । त्यसको ३ वर्षपछि २०८३ साउन ४ गते दोस्रो कार्गो रेल कलकत्ताबाट विराटनगर आएको थियो । त्यसपछि कार्गो रेल सेवा ठप्प छ । र रेल आउने की नआउने टुङ्गो लागेको छैन ।