- चिरफार डटकम, विराटनगर २६८ पटक हेरिएको
आइतबार, साउन ३१, २०८३ समय : १४:२०:०५ , ५ घन्टा अगाडि
विराटनगरमा आँखा अस्पताल सञ्चालन गरिरहेका सञ्चालक आन्दोलित बनेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले अघिल्लो साता विराटनगरको आँखा अस्पतालको अनुगमन गर्दै सङ्घीय सरकारको स्वास्थ्य निर्देशिका विपरीत सञ्चालनमा रहेको ७ वटा आँखा अस्पताललाई शिलबन्दी गरेका थिए ।
आँखा अस्पताल संघ मोरङ तदर्थ सङ्घर्ष समितिले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर शिलब्दी गरिएको आँखा अस्पतालको ताल्चा नखोले चरणबद्ध आन्दोलन सँगै कानुनी उपचार खोज्ने जानकारी गराए ।
तदर्थ समितिका संयोजक तथा विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले प्रशासनको निरकुंश रवैयालाई सच्याउनका लागि सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मार्फत सङ्घीय सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी गराए ।
तदर्थ समितिका सचिव तथा विराट आँखा अस्पतालका सञ्चालक तेजलाल कर्णले कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वीकृति लिएर सञ्चालनमा रहेको विराटनगरका आँखा अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङले अधिकार क्षेत्र बाहिर गएर शिलबन्दी गरेको बताए ।
मोरङ प्रशासनले आँखा अस्पतालमा शिलबन्धी गर्दा भारतको सञ्चार माध्यममा विराटनगरको आँखा अस्पताल बन्द भएको भनेर समाचार प्रकाशन भइरहेकोले भारतबाट विराटनगर आउने आँखा रोगका बिरामी अन्योलमा परेको सचिव कार्कीले बताए ।
विराट आँखा अस्पतालका सञ्चालक राजेश प्रसाईँले काठमाडौँको तिल गंगा आई केयरमा सरकारले बेड संख्या नतोकेको तर विराटनगरमा सञ्चालन भइरहेको आँखा अस्पतालमा बेड संख्यालाई आधार मानेकोले राज्यको दोहोरो नीति प्रति आक्रोश व्यक्त गरे ।
विराट रानी आँखा अस्पतालका सञ्चालक फिरोज चौधरीले विराटनगरमा २१ देखि २२ वटा सञ्चालनमा रहेको आँखा अस्पतालमा अरबौँ रुपैयाँ लगानी रहेको बताउँदै राज्यले निजी क्षेत्रको लगानीलाई डुबाउन खोजेको बताए ।