हुलाकी सडक मार्ग, ३ निर्वाचन क्षेत्रका ३ लाख जनता प्रभावित

  • ब्रह्मदेव यादव, विराटनगर ६९५  पटक हेरिएको

बिहिबार, बैशाख २१, २०८० समय : १४:२८:३८ , १ वर्ष अगाडि

मोरङ जिल्लामा हुलाकी सडक मार्गको अवस्था भयावह छ । जिल्लाको ३ निर्वाचन क्षेत्रका ३ लाख भन्दा बढि जनता हुलाकी सडक मार्गबाट प्रभावित बनेको छ । कोशी प्रदेश सभाका सदस्य गणेश उप्रेती (शुसिल) ले विराटनगर महानगरपालिकाको सिमाना कटहरी गाउँपालिकाको सिंघिया खोलादेखि झापाको सिमाना र रतुवामाई नगरपालिकासम्म हुलाकी सडक मार्ग खण्डमा बसोवास गरिरहेका ३ लाख भन्दा बढि जनता प्रभावित रहेको बताए ।

मोरङ जिल्लाको निर्वाचन क्षेत्र २, ४ र ५ का जनता हुलाकी सडक मार्गबाट प्रभावित छ । कटहरीको सिंघिया खोलादेखि रंगेली नगरपालिकासम्मको हुलाकी सडक मार्ग अवस्था दयनिय छ । अब बर्षायाम सुरुभएपछि सडकको धुलो माटो हिलोयाम हुने र ति सडक खण्डमा कुनै किसिमको सवारी साधन चल्न सक्ने अवस्था नरहेको मोरङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेलले बताए ।

मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले हुलाकी सडक मार्ग अविलम्ब निर्माणकालागि प्रतिनिधि सभामा पटक पटक कुरा उठाएको तर राज्यले सुनवाई नगरेपछि अन्तिम विकल्पको रुपमा सडक संघर्ष रोजेको बताए । मोरङ जिल्लाबाट प्रतिनिधि सभा र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद र स्थानिय तहका प्रमुखले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर हुलाकी सडक मार्गको निर्माण कार्य अगाडी बढाउँन नेपाल सरकार गुहारेको छ । ७ दिन भित्र हुलाकी सडक मार्गको निर्माण कार्य सुचारु नभई सरकार र निर्माण व्यवसायीका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले ७ दिन भित्र हुलाकी सडक मार्गको निर्माण कार्य सुचारु नभए रंगेली नगरपालिका सडक खण्डमा अनिश्चितकालिन बन्द हडताल गर्ने बताए । मेयर बगडियाले कटहरी देखि रतुवामाई नगरपालिकासम्मको सडक खण्ड ७ दिनपछि पुणरुपमा ठप्प पार्ने स्थानिय तहका जनप्रतिनिधिहरु एक जुट भएको बताए । मेयर बगडियाले कानून निर्माण गर्ने ठाउँमा २० जनाभन्दा बढि निर्माण व्यवसायी निर्वाचित भएकोले निर्माण व्यवसायीलाई दण्डित गर्न नसकेको बताए ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संघिय सांसद ऋषिकेश पोखरेल, योगेन्द्रप्रसाद मण्डल, कोशी प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्भ अधिकारी, जयप्रकाश चौधरी, भीमप्रसाद पराजुली, गयानन्द मण्डल, अमृत अर्याल र स्थानिय तह रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गछदार, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साह, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी उपस्थित थिए ।