जसपा नेपालले विराटनगर महानगरपालिका विरुद्ध आन्दोलन घोषणा गर्‍यो 

  • ब्रह्मदेव यादव, विराटनगर ८१३  पटक हेरिएको

बिहिबार, भाद्र २८, २०८० समय : १७:४५:३२ , १ वर्ष अगाडि

जनता समाजवादी पार्टी नेपालले विराटनगर महानगरपालिकाका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलले पार्टीका मोरङ जिल्ला अध्यक्ष तथा कोशी प्रदेश समितिका उपाध्यक्ष राजकुमार यादव माथि दुर्व्यवहार गर्ने नगर रक्षकलाई जागिरबाट बर्खास्त नगरेसम्म विराटनगर महानगरपालिका विरुद्ध आन्दोलन जारी रहने बताए । पत्रकार सम्मेलनमा पार्टीका विराटनगर महानगर उपाध्यक्ष नसरुलले नगर रक्षकलाई जागिरबाट बर्खास्त एक सुत्रिय माग पुरा नभएसम्म महानगरपालिका विरुद्ध चरणवद्ध रुपमा सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बताए ।

जसपा नेपालले शुक्रबार बिहान १० बजेदेखि विराटनगर महानगरपालिकाको गेटमा नगर रक्षकलाई बर्खास्त गर्नुपर्ने माग गर्दै नाराबाजी गर्ने कार्यक्रम घोषणा गरेका छन् । जसका लागि जसपा नेपालले विराटनगर सहित जिल्ला भरीका युवाहरूलाई आन्दोलनमा उतार्ने तयारी गरेको छ । जसपा नेपाल मोरङका अध्यक्ष तथा कोशी प्रदेश समितिका उपाध्यक्ष राजकुमार यादव र नगर रक्षकबीच बुधबार कोशी अस्पताल अगाडि सिटी सफारी पार्किङको विषयमा समान्य विवाद भएको थियो ।

त्यही विवादलाई मुद्दा बनाएर नगर रक्षकले विराटनगर महानगरपालिकामा कार्यरत १५ देखि २० जना नगर रक्षकलाई बोलाएर औषधि व्यवसायी सञ्चालन गरिरहेका पार्टीका मोरङ अध्यक्ष यादवलाई पसलबाट बाहिर निकालेर कठालो समातेर लछारपछार गर्दै वडा प्रहरी कार्यालय विराटनगरमा बुझाएको थियो । पछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नगर रक्षक प्रमुख प्रहरी निरीक्षक राजन पौडेल वडा प्रहरी कार्यालयमै गएर यादवलाई छुटाएका थिए । तर जसपा नेपालले पार्टीका मोरङ जिल्ला अध्यक्षलाई विराटनगर महानगरपालिकाको नगर रक्षकले अपमान गरेको भन्दै त्यसलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।