उद्योग संगठन मोरङले तेस्रो संस्करणको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सञ्चालन गर्ने 

  • ब्रह्मदेव यादव, विराटनगर ६५६  पटक हेरिएको

सोमबार, आश्विन १५, २०८० समय : १४:३१:५९ , १ वर्ष अगाडि

उद्योग संगठन मोरङले युवा र महिलालाई उद्यमी बनाउने गरी तेस्रो संस्करणको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सञ्चालन गर्ने तयारीमा जुटेको छ । संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले २ वर्ष अगाडिदेखि सुरु गरेको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमलाई वर्तमान अध्यक्ष राकेश सुरानाको टिमले निरन्तरता दिन लागेको हो । संगठनले सोमबार पत्रकार सम्मेलन गरेर तेस्रो संस्करणको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रममा सहभागिता जनाउनका लागि २०८० असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म १ महिना भित्र दरखास्त बुझाउन फारम खुल्ला भएको आवहान गरेका छन् ।

सुनसरी मोरङ औधोगिक करिडोर क्षेत्रमा बसोवास गरिरहेका युवा महिला तथा वैदेशिक रोजगारबाट स्वदेश फर्किएकालाई प्राथमिकतामा राखिएको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी गराए । संगठनका महानिर्देशक चुडामणी भट्टराईले तेस्रो संस्करणको कार्यक्रममा सहभागिताका लागि २० जना युवा र महिलालाई छनौट गरिने बताए । पहिलो संस्करणमा १७ र दोस्रो संस्करणमा १३ गरी ३० जना युवा तथा महिलाले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रममा सहभागिता जनाई सकेका छन् । र तेस्रो संस्करणको कार्यक्रममा सहभागिता जनाउने १ जनालाई ५० घण्टासम्म प्राविधिक परामर्श सेवा प्रदान गरिने छ ।

सहभागिता जनाउनेलाई निःशुल्क रुपमा प्राविधिक परामर्श सेवा प्रदान गरिने छ । तालिम लिई सकेकालाई उद्यमी बनाउन उद्योगको फारम दर्ता गर्नेदेखि लगानी गर्न सम्म बैंक सँग उद्योग संगठन मोरङले पहल गर्नेछ । पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष राकेश सुराना, निर्वतमान अध्यक्ष सुयश प्याकुरेल, संगठनका बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, संगठनका कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा र संगठनका कार्यसमिति सदस्य तथामहिला उद्यम समितिका अध्यक्ष प्रतिभा रिजाल ओलीको सहभागिता रहेको थियो ।