- ब्रह्मदेव यादव, विराटनगर ५०९ पटक हेरिएको
शुक्रबार, कार्तिक १७, २०८० समय : १५:५५:४९ , ११ महिना अगाडि
विराटनगर भन्सार कार्यालयमा एउटै सामानको दुई पटकसम्म चेक जाँच हुन थालेका छन् । भन्सार कार्यालयमा अधिकृत र नायब सुब्बा (जाँचकी) ले एक पटक सामान जाँच पास गरिसकेपछि प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले पुनः सामानको चेक जाँच गर्न थालेका छन् । यस विषयलाई लिएर विराटनगर भन्सार कार्यालयका अधिकृत र जाँचकीले नेपाल सरकार अन्तर्गत अर्थमन्त्रालय र भन्सार विभागलाई जानकारी गराएका छन् ।
भन्सार अधिकृत र जाँचकीले एउटै सामानको दुई पटकसम्म चेक जाँच पास गर्ने हो भने भन्सार अधिकृत र जाँचकीलाई हटाएर भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकाललाई एक्कल अधिकार प्रत्यायोजन गर्न सुझाव दिएको छ । केही दिन अघि विराटनगर भन्सार कार्यालयका अधिकृत र जाँचकीले चेक जाँच पास गरेर छोडिसकेको सामानलाई प्रमुख भन्सार अधिकृत ढकालले गाडीलाई नियन्त्रणमा लिएर पुनः सामान चेक जाँच गरेका थिए ।
एक पटक चेक जाँच भई सकेको सामान दोस्रो पटक चेक जाँच गर्दा थप ९ लाख रुपैयाँ व्यवसायी सँग राजश्व असुली गरेका थिए । भन्सार प्रमुख ढकालले सामान चेक जाँच पास गर्ने भन्सार अधिकृत जगदिश पुर्वेलाई कारवाही गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा काजसरुवा गरेका छन् । जाँचकी प्रकाश विश्वकर्मालाई एक महिनासम्म काम गर्न नपाउने गरी आईडी लक गर्दै कारवाही गरेका छन् । त्यसपछि एक पटक चेक जाँच पास भइसकेको सामानलाई भन्सार प्रमुख ढकालले पुनः दोहोराएर सामान चेक जाँच पास गर्न थालेका छन् ।