एमालेले भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्ने

  • ब्रह्मदेव यादव, विराटनगर ५८८  पटक हेरिएको

मंगलबार, कार्तिक २१, २०८० समय : १६:४९:५७ , ११ महिना अगाडि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कर्णाली प्रदेशका भूकम्प पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने तयारीमा जुटेको छ । नेकपा एमाले सामाजिक सेवा केन्द्रले कर्णाली प्रदेशको जाजरकोट र रुकुममा भूकम्पमा परी घरबार विहीन भएका पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने तयारीमा जुटेका छन् । नेकपा एमाले सामाजिक सेवा केन्द्रका प्रमुख एवं पार्टीका केन्द्रिय सदस्य मोतीलाल दुगडले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा भूकम्प पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने तयारी भई रहेको बताए ।

सामाजिक सेवा केन्द्रका अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य मोतीलाल दुगडले भूकम्प पीडित क्षेत्रमा चामल, दाल, चाउचाउ, चिउरा, भुजा, भुजिया, बिस्कुट, नुन, तेल, साबुन, सरफ लगायतका राहत सामग्री वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । भूकम्प पीडित परिवारलाई जाडो बाट बचाउन कम्मल, टेन्ट लगायत न्यानो कपडा वितरणको तयारी भई रहेको दुगडले बताए ।

दुगडका अनुसार एमालेले भूकम्प पीडित क्षेत्रमा वितरण गर्ने आवश्यक राहत सामग्री काठमाडौं, नेपालगञ्ज र दाङमा खरीद गरिएको बताए । दुई दिन भित्र एमालेले भूकम्प पीडित क्षेत्रमा राहत सामग्री वितरण गर्नेछ । कात्तिक १७ गते राती ११ः४७ मिनेटमा जाजरकोटको रामी डाँडालाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी २ सय भन्दा बढिको मृत्यु भई सकेको छ भने ४ सय भन्दा बढि घाइते छन् । हजार भन्दा बढि जाजरकोटवासी घरबार विहीन भएका छन् ।