जोगबनी रहर कि बाध्यता ?

  • ब्रह्मदेव यादव, विराटनगर ६०१  पटक हेरिएको

बुधबार, कार्तिक २२, २०८० समय : १८:१६:२९ , ११ महिना अगाडि

किनमेलका लागि जोगबनी रहर कि बाध्यता सर्वत प्रश्न उब्जिएको छ । जुन प्रश्नको चित्तबुझ्दो जवाफ सहित समस्याको समाधान गर्न तीन तहकै सरकार असफल सावित भइ रहेका छन् । जसको कारण नेपाली बजार सुनसान र जोगबनी बजार गुल्जार हुने क्रम बढ्दो छ । चाड पर्वको बेला मात्रै होइन सामान्य अवस्थामा पनि जुन सुकै बेला नेपालीहरू लत्ताकपडा देखि खाद्यान्न सामग्री खरीद गर्न जोगबनी पुग्ने गरेका छन् । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल भारतको अन्तर्राष्ट्रिय नाका जोगबनी भारतको विहार राज्यको मुख्य व्यापारी केन्द्र हो ।

जोगबनीलाई लक्षित गरेर भारतको मुम्बई, दिल्ली, गुजरात, पश्चिम बङ्गालको कलकत्ता जस्ता ठूला ठूला सहरका उद्योगीहरूले कपडादेखि खाद्यान्न सामग्री उत्पादन गरी रहेका छन् । भारतमा उत्पादन भएको लत्ताकपडादेखि खाद्यान्न सामग्रीको मूल्य एउटा उल्लेख गरेका हुन्छन् । तर मूल्यको तुलनामा व्यवसायीहरूले ५ देखि २५ प्रतिशतसम्म मूल्य घटाएर सामान बिक्री गरिरहेका छन् ।

जबकी जोगबनी बाहेक भारतको कुनै पनि सहरमा प्याकेटमा उल्लेख गरेको मूल्य घटाएर सामान बिक्री गरिदैन । नेपालको तुलनामा सीमान्त जोगबनी बजारमा लत्ताकपडादेखि खाद्यान्न सामग्री २० देखि ४० प्रतिशतसम्म सस्तोमा पाइन्छ । नेपालको तुलनामा चिनी मात्रै जोगबनी बजारमा प्रति केजी ४५ रुपैयाँ कम मूल्यमा पाइन्छ । जसको कारण नेपालीहरू चाडपर्वदेखि सामान्य अवस्थामा किनमेल गर्न जोगबनी पुग्ने गरेका छन् । सामान्य १५ देखि २० हजारको जागिर खाने निम्न आयस्तर भएका व्यक्तिले जोगबनीबाट ५ देखि १० हजारको खाद्यान्न सामग्री खरीद गरेर ल्याउँदा महिना भरी खान पुग्छ । तर त्यही सामान नेपालमा खरीद गर्दा १५ देखि २० हजार रुपैयाँ पर्छ ।

सर्वसाधारण नेपालीका लागि जोगबनी रहर मात्र नभई बाध्यता पनि बनेका छन् । नेपाली बजारको तुलनामा जोगबनी बजार सस्तो छ । जहाँ प्रत्येक दिन सयौँको सङ्ख्यामा देखि चाड पर्वको बेलामा हजारौं हजारको सङ्ख्यामा सर्वसाधारण किनमेल गर्न जोगबनी पुग्ने गरेका छन् । नेपालमा बसेर नियम कानुन बनाउने उच्च पद श्रेणीका कर्मचारी र उनका परिवार समेत किनमेल गर्न जोगबनी जाने गरेका छन् । राज्य यस विषयमा मौन छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला भारतमा १ लाख रुपैयाँमा पाइने मोटरसाइकल र स्कुटी नेपालमा ३ लाख रुपैयाँसम्ममा खरीद गर्न सक्ने सर्वसाधारणले महङ्गोमा भएपनि लत्ताकपडा खाद्यान्न सामग्री नेपालमै खरीद गर्नुपर्ने तर्क गर्छन । सरकार भारत सहित तेस्रो देशबाट नेपाल भित्री रहेको सामानमा भन्सार राजश्व कम लिएको खण्डमा नेपालमा लत्ताकपडादेखि खाद्यान्न सामग्री सस्तोमा पाइन्छ । र नेपालमा नै नेपालीहरू किनमेल गर्नेछन् । यस विषयमा राज्यको उच्चपदस्थ कर्मचारी र सरकारले ऐन नियम र कानुन परिमार्जन गर्न जरुरी छ ।