डा. क्षेत्री पुरस्कृत

  • चिरफार डटकम, विराटनगर ७९३  पटक हेरिएको

बिहिबार, मंसिर ०७, २०८० समय : १६:४५:४१ , ११ महिना अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्री उत्कृष्ट प्रमुख कर अधिकृतको रुपमा पुरस्कृत एवं सम्मानित भएका छन् । आन्तरिक राजश्व विभागले १२औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. क्षेत्रीलाई उत्कृष्ट प्रमुख कर अधिकृत घोषणा गर्दै पुरस्कृत र सम्मानित गरेका छन् ।

नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार डा. क्षेत्रीलाई नगद सहित पुरस्कृत गर्दै प्रशंसा–पत्र प्रदान गरेका थिए । आन्तरिक राजश्व विभागले देश भरी रहेका आन्तरिक राजश्व कार्यालयहरू मध्ये आन्तरिक राजश्व कार्यालय विराटनगरलाई उत्कृष्ट कार्यालय र त्यहाँ कार्यरत कार्यालय प्रमुख डा. क्षेत्रीलाई उत्कृष्ट कर अधिकृत घोषणा गर्दै पुरस्कार र सम्मान गरेको हो ।

डा. क्षेत्रीले मोरङका दुई ठूला उद्योगलाई कर छलीको आरोपमा सूक्ष्म तरिकाले अनुसन्धान गरेर कारवाही गर्दै करिब ४ अर्ब रुपैयाँ राजश्व असुली गर्न सफल भएका थिए । ३७औं स्थानमा रहेको आन्तरिक राजश्व कार्यालय विराटनगरमा बिचौलियालाई कार्यालय प्रवेशमा प्रतिबन्ध लगाउँदै सेवा ग्राहीको गुनासो सुन्दै कार्यालयलाई छैंठौं स्थानमा ल्याउन कडा मेहनत र परिश्रम गरेका थिए । जसको कारण आन्तरिक राजश्व विभागले डा. क्षेत्रीलाई पुरस्कृत र सम्मानित गरेको हो ।