- ब्रह्मदेव यादव, विराटनगर ४८८ पटक हेरिएको
बिहिबार, पुष ०५, २०८० समय : १५:१९:२९ , १० महिना अगाडि
शुक्रबारदेखि विराटनगरमा सञ्चालन हुन लागेको मोरङ व्यापार संघ एक्स्पो २०२३ को सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म मोरङ व्यापार संघले मोरङ व्यापार संघ एक्स्पोको आयोजना गरेको हो । मोरङ व्यापार संघले बिहीबार एक्स्पो स्थलमै पत्रकार सम्मेलन गरेर एक्स्पो सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।
संघका अध्यक्ष नविन रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एक्स्पोको उद्घाटक गर्ने कार्यक्रम रहेको बताए । एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न ४ करोड रुपैयाँ खर्च हुने र ४ लाख भन्दा बढि उपभोक्ताले एक्स्पोको अवलोकन गर्ने अध्यक्ष रिजालले बताए । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरेर २ सय ४० भन्दा बढि स्टल रहने र एक्स्पो अवधिभर ११ दिनमा १० करोड भन्दा बढि रुपैयाँको कारोबार हुने अध्यक्ष रिजालले बताए । संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल साहले एक्स्पोमा इटहरीको पाँच तारे सोल्टी होटलको खाना खाने स्टल रहेको बताए ।
यसको लाभ लिन विराटनगर वासीलाई संयोजक साहले आग्रह गरेका छन् । पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन कोशी प्रदेश वासीलाई संयोजक साहले आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुको पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।