प्रदेश सरकारमा माओवादीलाई दिने मन्त्रालयको टुङ्गो लाग्यो

  • ... ४८८  पटक हेरिएको

शुक्रबार, माघ ०६, २०७९ समय : १४:११:४१ , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

प्रदेश नं. १ मा नेकपा माओवादी केन्द्रलाई दिने २ मन्त्रालयको टुङ्गो लागेको छ । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले सोमबार बिना विभागिय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिने टुङ्गो लगाएको छ ।

माओवादी केन्द्रबाट मोरङका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र तेह्रथुमका दुर्गाप्रसाद चापागाईंलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय दिने गरी मन्त्रालयको टुङ्गो लागेको हो । मोरङ क्षेत्र नं. ६ को (२) प्रदेश सभाबाट निर्वाचित आचार्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाई हुन् ।

पुस २४ गते ४ दलिय गठबन्धनको सिफारिसमा १ नं. प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । २५ गते कार्कीले मुख्यमन्त्री पदको सपथ ग्रहण पछि विस्तार गरेको मन्त्री परिषद्मा माओवादी केन्द्र सहभागी भएका थिएनन् ।

पुस २९ गते मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका आचार्य र चापागाईंलाई विना विभागिय मन्त्री नियुक्त गर्दै प्रदेश सभाबाट विश्वासको मत हासिल गरेका थिए । मुख्यमन्त्री कार्कीले ६ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । सबै मन्त्री विना बिभागिय रहेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले सबै बिना बिभागिय मन्त्रीलाई मन्त्रालय जिम्मा लगाउने तयारी गरेको छ ।

विहीबार साँझ मुख्यमन्त्री कार्की र नेकपा माओवादी केन्द्र बिच भएको छलफलको क्रममा माओवादी केन्द्रलाई दिने २ मन्त्रालयको टुङ्गो लागेको हो ।