सशस्त्र समूहको नामबाट चन्दा असुली गर्ने २ जना पक्राउ 

  • चिरफार डटकम, विराटनगर ५१०  पटक हेरिएको

मंगलबार, फाल्गुण ०१, २०८० समय : १५:३२:१० , ८ महिना अगाडि

सशस्त्र समूहको नामबाट आतंक सृजना गरेर चन्दा असुली गर्ने २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेका मध्ये विपिन अधिकारी र प्रविण मिश्र रहेका छन् । मोरङ प्रहरीले सोमबार अधिकारीलाई विराटनगर र मिश्रलाई मोरङको निमुवाबाट पक्राउ गरेको जानकारी गराएको छ । मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर सशस्त्र समूहका नाइके अधिकारी र मिश्रलाई सार्वजनिक गरेका छन् ।

एसपी पोखरेलले शंकास्पद कुकर बमदेखि विस्फोटक पदार्थ पड्काएर सर्वसाधारणलाई त्रसित पार्दै नेकपा माओवादीको मोहनवैध समूह, बिप्लव समूह र बहुमत समूहको नामबाट चन्दा असुली जारी राखेको समूहको नाइके अधिकारी र मिश्रलाई पक्राउ गरेको बताए । सशस्त्र समूहका यी दुवै नाइकेको निर्देशनमा विभिन्न सशस्त्र समूहको लेटर प्याड प्रयोग गरेर शिक्षण संस्था र उद्योगी तथा व्यापारी प्रतिष्ठान सँग चन्दा रकम असुली गर्ने गरेको एसपी पोखरेलले बताए ।

मोरङ प्रहरीद्वारा पक्राउ परेका अधिकारी र मिश्र पूर्व नेकपा माओवादीका लडाकु हुन् । र २०८० साल भित्रै अधिकारी र मिश्रले नेपालमा नेकपा माओवादी महावीर समूहको नामबाट बेग्लै सशस्त्र संगठन खोल्ने तयारीमा जुटेका थिए । जसका लागि यी दुवै जनाले ३५ जनाको अधिवेशन समिति गठन गरेका छन् । त्यही अधिवेशनको नाममा चन्दा आतंक सृजना गरेको एसपी पोखरेलले बताए । मोरङ प्रहरीले यी दुवैको साथबाट विभिन्न सशस्त्र समूहको लेटर प्याड, बैंकको चेक बरामद गरेको छ ।