“पूर्णरुपमा गणतन्त्र समाप्त गरौं, राजसंस्था स्थापना गरौं”

  • ब्रह्मदेव यादव, विराटनगर २९५  पटक हेरिएको

बुधबार, फाल्गुण ३०, २०८० समय : १६:५२:४८ , ७ महिना अगाडि

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले पूर्णरुपमा गणतन्त्रको समाप्ति सँगै राजसंस्था स्थापनाको माग गर्दै बुधबार विराटनगरमा शक्ति प्रदर्शन गरेका छन् ।

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहाल र संघर्ष समितिका सल्लाहकार पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल र पूर्व राजपरिषद् स्थायी समिति सदस्य जितबहादुर अर्जेलको नेतृत्वमा बुधबार विराटनगरको संसारी माइस्थानबाट निस्केको जुलुस नगरक्षेत्रको विभिन्न भागमा शक्ति प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको थियो ।

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका संयोजक दाहालले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई पूर्ण रुपमा गणतन्त्र समाप्ति र राजसंस्था स्थापनाको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

संघर्ष समितिका अध्यक्ष दाहालले १५ दिन अगाडि नै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउन आउँदैछु भनेर जानकारी गराएका थिए । तर बुधबार प्रमुख जिल्ला अधिकारी भट्टराई कार्यालयमा अनुपस्थित रहेपछि सहायक प्रमुख जिल्ला अधिकारी साह मार्फत प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

संघर्ष समितिले सनातन हिन्दु राज्य कायम गर्न र २०४७ सालको संविधानलाई आत्मसाथ गरेर अगाडि बढ्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । संघर्ष समितिले बुधबार विराटनगरको संसारी माइस्थानबाट निकालेको जुलुसमा सहभागीहरूले “राजा ल्याउ, देश बचाउ”, “श्री ५ ज्ञानेन्द्र जिन्दावाद”, “राजसंस्था स्थापना गरौं” र “हिन्दु अधिराज्य कायम गरौं” जस्ता नारा लगाएका थिए ।

कार्यक्रममा संघर्ष समिति मोरङका उपाध्यक्ष रमा प्रसाईं बरिष्ठ सचिव, पुष्पराज दाहाल लगायत सर्वसाधारणहरूको बाक्लो संख्यामा सहभागिता रहेको थियो ।