मोरङ व्यापार संघमा महिला किन पदाधिकारी बन्न सक्दैन ? 

  • ब्रह्ममदेव यादव, विराटनगर ४९३  पटक हेरिएको

मंगलबार, चैत्र १३, २०८० समय : १८:१६:२८ , १ महिना अगाडि

निजी क्षेत्रको सबै भन्दा पुरानो इतिहास बोकेको संस्था मोरङ व्यापार संघमा महिला किन पदाधिकारी बन्न सक्दैन भन्ने प्रश्न तेर्सिएको छ । निजी क्षेत्रकै संस्था नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिमा गिरिजा सारडा, महिला उपाध्यक्ष र विराट व्यापार संघको केन्द्रिय कार्यालय विराटनगरको कार्यसमितिमा सरस्वती ओझा महिला उपाध्यक्ष रहेका छन् ।

विराट व्यापार संघले सोनु गुरुङ महिलालाई नै कोषाध्यक्ष पदको जिम्मेवारी दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समिति र उद्योग संगठन मोरङको कार्यसमितिमा अनिवार्य रुपमा एक जना महिला पदाधिकारी रहने व्यवस्था छ । तर मोरङ व्यापार संघको कार्यकारिणी समितिमा एक जना पनि महिला पदाधिकारी छैन ।

संघको अघिल्लो ३२औं कार्यकारिणी समितिमा बन्दना जैन सदस्य रहेका थिए । तर नविन रिजाल नेतृत्वको ३३औं कार्यकारिणी समितिमा एक जना पनि महिला पदाधिकारीको चयन भएन । मोरङ व्यापार संघमा १० जना महिला पदाधिकारी रहेको महिला उद्यम समिति छ ।

बन्दना जैन संयोजक रहेको समितिमा साधना झा सचिव, नम्रता रिजाल, रेखा राठी, अर्पणा सारडा, सुनिता अग्रवाल, श्रृति शर्मा, जिना श्रेष्ठ, जिनाजंग कार्की र सुची चौधरी सदस्य रहेका छन् । तर महिलाहरूले संघको कार्यकारिणी समितिमा महिला उपाध्यक्ष, पदाधिकारी र सदस्य निर्वाचित हुनु पर्ने व्यवस्थाको माग गरेका छन् ।

संघको यही चैत्र २२ गते हुन लागेको साधारण सभामा कार्यकारिणी समितिमा महिला पदाधिकारी राख्ने की नराख्ने विषयमा विशेष छलफल पछि प्रस्ताव पारित गरिने छ ।