जहाँ सशस्त्र प्रहरीबल, त्यहाँ तस्करी

  • ब्रह्मदेव यादव, विराटनगर ४८१  पटक हेरिएको

शुक्रबार, बैशाख ०७, २०८१ समय : १३:३०:४४ , ६ महिना अगाडि

नेपाल सरकारले राजश्व वृद्धिका लागि जहाँ सशस्त्र प्रहरीबल परिचालन गर्छ, त्यहीबाट सबै भन्दा बढि परिमाणमा तस्करी भई रहेका छन् । नेपाल सरकारले चोरी, तस्करी, रोगथाम तथा राजश्व वृद्धिका लागि मोरङको रानी नाकामा परिचालन गरिएको सशस्त्र प्रहरी बल सबैभन्दा बढि तस्करीमा चुर्लुम्म डुबेको छ । नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना रानी भन्सार कार्यालयमा परिचालन गरिएको सशस्त्र प्रहरीबल अवैध तस्करीलाई बढावा दिई रहेका छन् ।

मोरङ जिल्लाको मुख्य अन्तर्राष्ट्रिय भन्सार नाका रानी भन्सार कार्यालयमा ड्युटीमा कार्यरत सशस्त्र प्रहरीबलका कनिष्ट देखि बरिष्ठ प्रहरी अधिकृत तस्करीलाई बढावा दिई रहेका छन् । विराटनगर, दुहबी, इटहरी, धरान, झापा सहित कोशी प्रदेश भरीबाट ५० भन्दा बढि अवैध कारोबारीले भरिया परिचालन गरेर सीमान्त क्षेत्र भारतको जोगबनी बजारबाट मोटो परिमाणमा कपडा ल्याउने गरेका छन् ।

यसरी दिनभरी जोगबनीबाट ओसारपोसार गरिएको कपडा साँझपख रानी नाका नजिकको गोदामबाट रिजभ गरिएको सवारी साधन मार्फत गन्तव्य स्थलसम्म पुर्‍याउने गरेका छन् । जसको कारण राज्यको मोटो रकम राजश्व चुहावट भई रहेका छन् । सीमा नाकाको सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरीबल रानी कार्यालयका प्रमुख डीएसपी महेश केसी नेतृत्वको टोली अवैध असुली कार्यमा व्यस्त छन् ।

सशस्त्र प्रहरीबल मोरङका एसपी विश्वबन्धु खड्का, सशस्त्र प्रहरीबल कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी अन्जनीकुमार पोखरेल र नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत अवैध तस्करीका बारेमा मौन छ ।