जैन श्वेताम्बर तेरापंथी सभाले मनाए २६२३औं महावीर जयन्ती

  • चिरफार डटकम, विराटनगर ४९२  पटक हेरिएको

आइतबार, बैशाख ०९, २०८१ समय : १८:४७:५४ , ३ हप्ता अगाडि

विराटनगर स्थित जैन श्वेताम्बर तेरापंथी सभाले आइतबार भव्य कार्यक्रम आयोजना गरेर २६२३औं महावीर जयन्ती मनाएका छन् । सभाले आइतबार बिहान आचार्य महाश्रमणको शिष्य मुनी रमेशकुमारको आतिथ्यतामा महावीर जयन्तीको अवसरमा प्रभातफेरी कार्यक्रम गरेका थिए । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदिप सुनुवारले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

जैन भवनबाट निस्केको प्रभातफेरी नगरक्षेत्रको विभिन्न भागको परिक्रमा पछि पुनः जैन भवनमै पुगेर सम्पन्न भएको थियो । जैन भवनमा आयोजित प्रवचन कार्यक्रममा नेपालकी कांग्रेसका केन्द्रिय सदस्य एवं संघीय सांसद डा. शेखर कोइराला, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष मधुबाबु तिवारी र जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिस दुगडले महावीर जयन्तीको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, समाजसेवी एवं संस्कृति विज्ञ भिखमचन्द सरल सहित समाजका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । सभाका अध्यक्ष सतिश दुगडले कार्यसमिति सदस्य विकास लालवानीलाई महावीर जयन्तीको संयोजकको जिम्मेवारी प्रदान गरेका थिए । संयोजक लालवानीले महावीर जयन्तीलाई भव्य रुपमा सम्पन्न गर्न दुई दिवसीय कार्यक्रम आयोजना गरेको थिए ।

शनिबार पहिलो दिन सभाले विराटनगरको आरोहण गुरुकुलमा चन्दनवाला नाटक महोत्सव कार्यक्रम आयोजना गरेका थिए । करिब २५ सय वर्ष अगाडि चन्दनवालाले साधवी शिक्षा आर्जन गरेर भगवान महावीर संग आज्ञा लिएर सती गएका थिए ।