सोमबार मोरङ उद्योग व्यापार संघको निर्वाचन

  • ब्रह्मदेव यादव, विराटनगर ६७८  पटक हेरिएको

आइतबार, बैशाख २३, २०८१ समय : १५:३७:०५ , ५ महिना अगाडि

निजी क्षेत्रको पुरानो संस्था मोरङ उद्योग व्यापार संघमा सोमबार निर्वाचन हुन लागेको छ । ३४औं कार्यकारिणी समिति गठन गर्न बैशाख २४ गते सोमबार कार्यकारिणी सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । संघमा पहिलो चरण १६ जना कार्यकारिणी सदस्य निर्वाचित हुने र यसरी निर्वाचित भएको सदस्यले अध्यक्ष निर्वाचित गराउने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्षले बरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदका लागि पदाधिकारी मनोनयन गर्ने संघको ऐनले व्यवस्था गरेको छ । ३३औं कार्यकारिणी समितिका बरिष्ठ उपाध्यक्ष अनुपम राठी ३४औं कार्यकारिणी समितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने टुंगो लागेको छ । यस अघि संघमा अनुपम राठीका बुवा नन्दकिशोर राठी र हजुरबुवा आशकरण राठी अध्यक्ष भई सकेका छन् ।

मोरङ उद्योग व्यापार संघले सोमबार हुने निर्वाचनका लागि बरिष्ठ अधिवक्ता पुनम गुप्ताको संयोजकमा निर्वाचन समिति गठन गरेका छन् । निर्वाचन समितिले सोमबार बिहानैदेखि उम्मेदवारको उम्मेदवारी दर्ता र निर्वाचन एकैदिन गराउने कार्यतालिका सार्वजनिक गरेको छ । संघमा ३३औं कार्यकारिणी समितिका अध्यक्ष नविन रिजालले ३४औं कार्यकारिणी समिति गठनका लागि कसरी अगाडि बढ्ने विषयमा आइतबार पदाधिकारी र कार्यकारिणी सदस्यको बैठक बोलाएको छ ।