- ब्रह्मदेव यादव, विराटनगर ६८७ पटक हेरिएको
आइतबार, जेठ ०६, २०८१ समय : १७:२२:२० , ७ महिना अगाडि
विराटनगर स्थित सुनसरी–मोरङ सिंचाई आयोजनामा इन्जिनियर नृत्यानन्द झाले आर्थिक चलखेल गरी रहेको रहस्य बाहिरिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को असार मसान्त समाप्त हुनु भन्दा अगाडि सरकारी सेवाबाट जागिर अवधि सकिन लागेका झाको आर्थिक चलखेलले आयोजनामा विकास निर्माणको काम प्रभावित बनेको छ । लामो समयदेखि आयोजनामा इन्जिनियरको रुपमा कार्यरत झा कागजातमा मात्रै विकास निर्माणको काम देखाई आयोजनाको विकास निर्माण शीर्षकको मोटो रकम अनियमितता गरेको रहस्य बाहिरिन थालेका छन् ।
झाको कार्यक्षेत्रमा नहर सरसफाई र मर्मत सम्भार शीर्षकमा मोटो रकम अनियमितता भएको र हुने क्रम जारी रहेको आयोजना निकट समाचार सूत्रले जानकारी गराएको छ । आयोजनामा विकास निर्माणको काम आयोजना सँग आवद्ध जलउपभोक्ता समितिबाट हुने गरेका छन् । केही वर्ष अघि सम्म आयोजनाको काम जल उपभोक्ता समितिले गर्ने र त्यसरी गरिएको कामको केही प्रतिशत रकम आयोजनामा कार्यरत आयोजना प्रमुख, डिभिजन इन्जिनियर र इन्जिनियरहरूले बुझ्ने चलन रहेका छन् ।
तर पछिल्लो समय झाको कार्यक्षेत्रमा आयोजनाले आफै जनशक्ति परिचालन गरेर विकास निर्माणको काम गर्ने र त्यसरी काम सम्पन्न भई सकेपछि केही प्रतिशत रकम उपभोक्ता समितिको नाममा छुट्याएर बाँकी रकम आयोजनाका शक्तिशाली इन्जिनियरहरूले झ्वाम्म पारी रहेका छन् । जुन विषयलाई लिएर आयोजनाका उच्च पदस्थ कर्मचारी र जल उपभोक्ता समिति बिच मनमुटाव चली रहेका छन् ।
झाले आयोजनामा अनियमित तरिकाले मोटो रकम आर्जन गरेको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक पटक आधा दर्जन भन्दा बढि उजुरी परेका छन् । तर झाले शक्ति केन्द्रको आर्डमा सबै उजुरी फिर्ता गराएको आयोजना निकट समाचार सूत्रले जानकारी गराएको छ । ओभरसियरबाट सरकारी सेवामा प्रवेश गरेका झा पछिल्लो समय इन्जिनियरमा बढुवा भएका छन् । र उनको सम्पत्ति दश गुणाले बढेको आयोजना निकट समाचार सूत्रको दावी छ । यस विषयमा इन्जिनियर झा सँग पटक पटक टेलिफोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनु भएन ।