कटहरी गाउँपालिकाको सबै विज्ञापन काठमाडौंको एजेन्सीलाई

  • ब्रह्मदेव यादव, विराटनगर ४६४  पटक हेरिएको

आइतबार, आषाढ ०९, २०८१ समय : १५:५०:१३ , ४ महिना अगाडि

मोरङ जिल्लाको कटहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को लागि सबै विज्ञापन काठमाडौंको विज्ञापन एजेन्सीलाई जिम्मा लगाएको कारण विकास निर्माण सम्बन्धी सूचना जनता समक्ष पुग्न सकेन । जसको कारण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी तन्त्रले ठेकेदार सँग गोप्य रुपमा साँठगाँठ गरेर विकास निर्माण शीर्षकको रकम मनपरी तरिकाले खर्च गर्दा जनता सूचनाबाट बञ्चित हुन पुगेका छन् ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी तन्त्रले विकास निर्माण शीर्षकको बजेटमा अनियमितता गर्न नामै नसुनेको र बजारमा नदेखिने सञ्चार माध्यमलाई विज्ञापन उपलब्ध गराएर आर्थिक अनियमिततामा संलग्न रहेको आरोप लागेको छ । कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा प्रकाशन गर्नुपर्ने सबै विज्ञापन काठमाडौंको वल्ड कम्युनिकेसन मिडिया प्रा.लि. लाई जिम्मा लगाएका छन् ।

गाउँपालिकाले करिब २० लाख रुपैयाँ विज्ञापन शीर्षकमा खर्च गर्ने गरी टेन्डर आवहन गरेका थिए । जसमध्ये काठमाडौंको वल्ड कम्युनिकेसन मिडिया प्रा.लि. ले सबै भन्दा कम २ लाख ५२ हजार ४ सय ४२ रुपैयाँको टेन्डर फारम भरेका थिए । र उसैलाई टेन्डर परेको थियो । मिडियाले काठमाडौंको राष्ट्रिय दैनिकमा प्रति सीसी १ सय ७ रुपैयाँ र कोशी प्रदेशको राष्ट्रिय दैनिकमा प्रति सीसी ९५ रुपैयाँका दरले भुक्तानी हुने गरी भरेको फारम स्वीकृति भएको थियो । तर काठमाडौंका विज्ञापन एजेन्सीले सञ्चालन गरी रहेको र बजारमा नदेखिने पत्रिकामा कटहरी गाउँपालिकाको विज्ञापन प्रकाशन भएको कारण गाउँपालिकाले विकास निर्माण सम्बन्धी सही सूचना जनता समक्ष पुग्न सकेन ।

जसको कारण कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कर्मचारी तन्त्रले आफूखुशी आफ्ना नजिकका ठेकेदारलाई विकास निर्माण कार्यको जिम्मा लगाएर मोटो रकम अपचलन गरेका छन् । जसको छानविन हुनु पर्ने माग उठेका छन् । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत रोहिणीप्रसाद आचार्यले विज्ञापन काठमाडौंको विज्ञापन एजेन्सीलाई जिम्मा लगाएको भन्दै जिम्मेवारीबाट भाग्न खोजेका छन् ।

उनले गाउँपालिकाको खरिद इकाई समितिमा कर्मचारी तन्त्र मात्रै रहेकोले उनीहरूले नै काठमाडौंको वल्ड कम्युनिकेसन मिडिया प्रा.लि. लाई विज्ञापनको ठेक्का दिएको बताए । कटहरी गाउँपालिकाका स्टोर शाखा प्रमुख ओम विक्रम कटुवाल खरिद इकाई समितिको संयोजक रहेका छन् । पूर्वप्रमुख प्रशासकीय अधिकृत आचार्य र कटुवालको खेलोफड्कोको कारण गाउँपालिकाको सबै विज्ञापन काठमाडौंको एजेन्सीको हातमा पुगेको हो ।