“पहिलो चरणमा ओली, दोस्रो चरणमा देउवा प्रधानमन्त्री बन्ने सहमति”

  • ब्रह्मदेव यादव, विराटनगर ४४०  पटक हेरिएको

मंगलबार, आषाढ १८, २०८१ समय : १२:३९:१२ , ३ महिना अगाडि

नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले पहिलो चरणमा नेकपा एमाले अध्यक्ष के.पी. शर्मा ओली र दोस्रो चरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेका छन् । नेपाल प्रेस युनियन मोरङले मङ्गलवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य निधिले नयाँ सत्ता समीकरण बारे भएको सहमति सार्वजनिक गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सम्मेलित सत्ता गठबन्धन टुटेको छ । एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवा बिच आइतबार राती नयाँ सत्ता समीकरण बारे सहमति भएका छन् । जुन सहमति अनुसार अबको केही दिन भित्र एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको रूपमा सरकारको नेतृत्व गर्नेछ ।

पत्रकार सम्मेलनमा काँग्रेस नेता निधिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्‍यो यात प्रतिनिधि सभाबाट विश्वासको मत हासिल गर्नु पर्‍यो । अल्पमतमा परिसकेको प्रचण्डले बढीमा २ दिन भित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने काँग्रेस नेता निधिको तर्क छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालालाई उपप्रधानमन्त्री सहित गृह मन्त्रीको जिम्मेवारी दिएर ओली नेतृत्वको सरकारमा पठाउनु पर्ने काँग्रेस भित्र लबिङ जारी रहेको बेला काँग्रेस नेता निधिले यसको आधिकारी निर्णय पार्टी सभापति देउवाले लिने बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला पात्रकार सम्मेलनमा सहभागी थिए ।