
- ब्रह्ममदेव यादव, विराटनगर ६०८ पटक हेरिएको
शनिबार, माघ १२, २०८१ समय : १६:१९:१८ , ३ हप्ता अगाडि
शनिबारदेखि विराटनगरमा विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गरेका छन् । माघ २० गतेसम्म चल्ने विराट एक्स्पोको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा उद्योग सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेकोले विदेशी लगानी भित्रिन छोडेको बताए ।
उच्च राजश्व दर रेटका कारण विदेशी उत्पादन सँग प्रतिस्पर्धा गर्न नसक्दा पूर्वको औद्योगिक क्षेत्र सोचे अनुसार अगाडि बढ्न नसकेको सुरानाले बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बढी आयात भइरहेको सामानमा भन्सार राजश्व दर वृद्धि गरिदिँदा स्वदेशी उद्योग आत्मनिर्भर बन्ने धारणा व्यक्त गरे ।
कोशी प्रदेश सरकारले २०८२ सालमा आयोजना गर्न लागेको लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनलाई नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले सहयोग गर्ने बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन नीति बनाउनु पर्ने बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वदेशी उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ नेपालमा उत्पादन नभएसम्म औद्योगिक क्षेत्र अगाडि बढ्न नसक्ने बताए ।
उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशमा २ सय ६८ स्टलबाट औद्योगिक एवं व्यापारिक सामानको विक्री र प्रचार–प्रसार भइरहेको बताए ।
पछिल्लो समय विद्यार्थीहरु रोजगारका लागि विदेश पलायन भइरहेकोले त्यसलाई रोक्नका लागि २ हजार ५ सय विद्यार्थीलाई विराट एक्स्पो मार्फत सीप मूलक तालिम दिन लागेको संयोजक दुलालले बताए ।