कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

  • ब्रह्मदेव यादव, विराटनगर २०२  पटक हेरिएको

बुधबार, बैशाख १७, २०८२ समय : १२:४७:५९ , ६ घन्टा अगाडि

कोशी प्रदेशमा यही २०८२ साल वैशाख १८ र १९ गते हुन लागेको लगानी सम्मेलनको तयारी पुरा भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणको कार्यालय विराटनगरले बुधवार पत्रकार सम्मेलन गरेर पहिलो लगानी सम्मेलनको तयारी पुरा भएको जानकारी गराए ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राणा मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला पत्रकार सम्मेलनमा सहभागी थिए ।

मन्त्रीद्वय मगर र भण्डारी लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. कोइरालाले लगानी सम्मेलनबारे उठेको प्रश्नको जवाफ दिएका थिए ।

चिन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत, नेपाल सहित गैर आवासीय नेपालीहरूको उपस्थितिमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १८ गते बिहीबार विराटनगर स्थित विरेन्द्र सभा गृहमा कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कोशी प्रदेश सरकारले १ खर्ब, ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ७१ वटा परियोजनालाई सोकेसिङ गरेर लगानी सम्मेलनमा लाने तयारी गरेको छ ।

पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आईटी सहित ८ वटा क्षेत्रका परियोजनाहरू सोकेसिङमा परेका छन् । कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलनलाई सफल बनाउन ८ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गरिसकेका छन् । यसको कारण लगानी कर्ताले लगानी गर्दा आइपर्ने सम्पूर्ण समस्याको स्वतः समाधान हुनेछ ।