- चिरफार डटकम, विराटनगर ३२७ पटक हेरिएको
बुधबार, भाद्र ०३, २०८३ समय : १५:२७:१२ , ३ घन्टा अगाडि
पछिल्लो समय मोरङमा प्रहरीको सूचना तन्त्र कमजोर देखिएको छ । प्रहरीको कमजोर सूचना तन्त्रको कारण उद्योगी व्यवसायीको मानमर्दन भइरहेको छ ।
नेपाल प्रहरीको दुई बेग्लाबेग्लै निकाय जनपथ र सशस्त्र प्रहरीले विराटनगरको दुई स्थानमा मारेको छापाको उपलब्धि शून्य देखिएको छ । सशस्त्र प्रहरी बल नेपाल मोरङको टंकी स्थित कंकालिनी गुल्मका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीको नेतृत्वमा बुधवार विराटनगर–१४ जतुवा स्थित सुरेश यादवको घर र गोदाममा छापा मारेको छ ।
सशस्त्र प्रहरीले यादवको घर र गोदाममा करोडौँ रुपैयाँ बराबरको तस्करीको कपडा रहेको सूचना तन्त्रको आधारमा छापा मार्दा उपलब्धि शून्य देखिएको छ ।
सशस्त्र प्रहरीले यादवको घर र गोदामा करोडौँ रुपैयाँ बराबरको कपडा रहेको भनेर सूचना तन्त्रको आधारमा छापा त मार्यो । तर यादवको गोदामबाट तस्करीको कपडा नभई गाई र भैँसीलाई खुवाउन राखेको गहुँको भुसको बोरा भेटिएको छ ।
तर पनि सशस्त्र प्रहरीले भुसको बोरा भित्र कपडा छ कि भनेर खान तलासी गरेका थिए । बुधवार बिहान ४ बजेदेखि यादवको घरमा सशस्त्र प्रहरीले छापा मारेका थिए । विराटनगर–१४ यादव बाहुल्य वडा हो । र त्यहाँको सुरक्षा अवस्थालाई बुझेर सशस्त्र प्रहरीले बाक्लो संख्यामा प्रहरी टोली तैनाथ गरेका थिए ।
केही सामान बरामद गर्न नसक्दा फेलियर सूचना तन्त्रलाई ढाकछोप गर्न यादवको घरमा रहेको पुरानो तथा ड्यामेज कपडालाई नयाँ कपडा भन्दै झोला र बोरामा सिलप्याक गरेर लगेका थिए । यादवले विगतमा कपडाको कारोबार गर्दा बिक्री नभएको पुरानो तथा ड्यामेज कपडा घरमा थन्काएर राखेका थिए ।
त्यही पुरानो तथा ड्यामेज कपडा सशस्त्र प्रहरीले उठाएर लगेका छन् । केही समय अगाडी मोरङ प्रहरीले उद्योगी प्रकाश मुन्दडाको विराटनगर–७ स्थित घरमा छापा मारेका थिए । उद्योगी मुन्दडाको घरमा मोटो रकम र सुन तथा चाँदी रहेको सूचनाको आधारमा छापा मारेका थिए । र त्यहाँबाट उपलब्धि शून्य देखिएको थियो । फेलियर सूचना तन्त्रको पछि नेपाल प्रहरी सक्रिय हुँदा व्यवसायीको मानमर्दन भइरहेको छ ।