- ब्रह्मदेव यादव, विराटनगर १३८ पटक हेरिएको
आइतबार, आश्विन २५, २०८३ समय : १४:२६:३९ , ३ घन्टा अगाडि
असोज २७ र २८ गते कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री सम्मेलन हुन लागेको छ । विराटनगरको बिग होटेल मुख्यमन्त्री सम्मेलन स्थल रहेको छ ।
जहाँ ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूले अधिकारको बाधक रहेको नेपालको संविधान २०७२ लाई संशोधन गर्न संघीय सरकारलाई दबाब दिने गरी तयार पर्ने साँझा एजेण्डाको बारेमा विस्तृत रूपमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार पत्रकार सम्मेलन गरेर असोज २७ र २८ गते आयोजना गर्न लागेको अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री सम्मेलनको तयारी पुरा भएको बताए ।
वर्षमा दुई पटक भेट–घाट तथा छलफल गर्ने र वर्षमा एक पटक अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री सम्मेलनको आयोजना गर्ने विषयमा कोशी प्रदेशको मुख्यमन्त्री सम्मेलनले प्रस्ताव पास गर्ने एजेण्डा तय भएको मुख्यमन्त्री कार्कीले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेले संघीय सरकारको नेतृत्व गर्दा प्रदेश सरकारसँग भेटघाट तथा छलफल बाक्लो हुन्थ्यो । तर राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय सरकारको नेतृत्व गर्दा प्रदेश सरकारसँग भेटघाट तथा छलफल पातलिएको मुख्यमन्त्री कार्कीले बताए ।
संघीयता भएको देशमा पूर्वमुख्यमन्त्रीले पाउने गरेको सुविधा नेपालका पूर्वमुख्यमन्त्रीले कहिलेदेखि पाउने भन्ने चिरफार डटकमद्वारा सोधिएको एक प्रश्नको जवाफमा मुख्यमन्त्री कार्कीले व्यक्तिगत सुविधा बढाउने विषयमा मुख्यमन्त्री सम्मेलनमा छलफल नहुने बताए ।