- चिरफार डटकम, विराटनगर २२१ पटक हेरिएको
सोमबार, आश्विन २६, २०८३ समय : १५:४८:३१ , ४ घन्टा अगाडि
नेपालीहरूको महान् चार्ड पर्व विजया दशमीमा विराटनगर बजार गुल्जार बनेको छ । धेरै समयपछि विजया दशमीमा विराटनगर बजार गुल्जार बनेको हो ।
चार्ड पर्वको बेला सीमान्त क्षेत्र भारतको जोगबनी बजार गुल्जार हुने तर नेपालको विराटनगर बजार सुनसान भइरहेको कसैसँग लुकेको छैन । र विजया दशमीको मुखमा विराट व्यापार संघले विराटनगरमा आयोजना गरेको विराट ट्रेड फेयरका कारण विराटनगर बजार गुल्जार बनेको हो ।

विराट व्यापार संघले १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने गरी ७५ लाख भन्दा बढी रुपैयाँ खर्चेर असोज २२ देखि ३० गतेसम्म विराटनगरको जैन भवनको प्राङ्गणमा विराट ट्रेड फेयरको आयोजना गरेको छ ।
विराट ट्रेड फेयरमा लत्ताकपडादेखि दैनिक उपभोगको खाद्यान्न सामग्री सस्तो मूल्यमा बिक्री भइरहेको छ । जसको कारण जोगबनी भन्दा विराट ट्रेड फेयर उपभोक्ताको पहिलो रोजाइमा परेको छ ।
विराटनगरसहित सुनसरी र मोरङका सर्वसाधारण विराट ट्रेड फेयरमा किनमेल गर्ने र बाँकी किनमेल विराटनगर बजारमा गर्दा बजारमा चहलपहल बढेको छ ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले विराट ट्रेड फेयर बाहेक विराटनगरमा १ अर्ब भन्दा बढी रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको बताए ।

अध्यक्ष जिन्दलले थपेः विराट ट्रेड फेयरमा उपभोक्ताको भिड थामिनसक्नु छ । विराट ट्रेड फेयरबाट किनमेल गरेर बाहिर निस्केका उपभोक्ता विराटनगर बजारमा थप किनमेल गर्दा बजारमा चहलपहल त बढेको नै छ ।
व्यवसायीको कारोबारमा समेत वृद्धि भएको छ । विराट ट्रेड फेयरमा उद्योगी तथा व्यापार प्रतिष्ठानको १ सय ३० वटा स्टल रहेका छन् । ती स्टलबाट स्वदेशी उत्पादनका सामाग्री बिक्री वितरण भइरहेको छ ।
वर्षौदखि चार्ड पर्वको बेलामा भारतीय बजार जोगबनीमा भारती सामान किनमेल गर्ने उपभोक्ता यस पटक विराटनगरमा जारी विराट ट्रेड फेयरमा स्वदेशी उत्पादनका सामग्री खरिद गरिरहेका छन् । जसको कारण उद्योगी तथा व्यवसायी उत्साहित बनेका छन् ।