- ब्रह्मदेव यादव, विराटनगर ५८२ पटक हेरिएको
बिहिबार, साउन ११, २०८० समय : १९:११:३६ , १ वर्ष अगाडि
मोरङ व्यापार संघ विराटनगरले लेवलिङ फिर्ता गराउन सरकारका विरुद्ध दवावमुलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । संघले विहिबार पत्रकार सम्मेलन गरेर ७ दिनभित्र लेवलिङ फिर्ता लिने निर्णय नभए सरकारका विरुद्ध नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना रानी नाकामा धर्नादिने चेतावनी दिएको छ । मोरङ व्यापार संघको आन्दोलनलाई वीरगञ्ज उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिलकुमार अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थ नगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्बुल वाहिद मंसुलीले समर्थन गरेका छन् । लेवलिङ फिर्ता नभए ४ वटै उद्योग वाणिज्य संघले सरकारका विरुद्ध अन्तर्राष्ट्रिय सिमा नाकामा एक साथ धर्नाका कार्यक्रम संचालन गर्ने तयारी भईरहेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।
सरकारले २०८० साउन १ गतेदेखि दोस्रो तथा तेस्रो देशबाट भन्सार कार्यालय हुँदै नेपाल आयात हुने सामानमा अनिर्वाय रुपमा लेवलिङ लगाउनुपर्ने व्यवस्था गरेको छ । कम्पनीले उत्पादन गर्ने सामानमा लेवलिङ सम्भव भएपनि विक्रेताले सामान विक्री गर्दा हरेक प्याकेटमा लेवलिङ लगाउन सम्भव नरहेकोले सरकारी निर्णयको उद्योगी व्यवसायीले खुलेर विरोध गरेको छ । संघका अध्यक्ष रिजालले नेपाल राष्ट्र बैंकले मौद्रिक निति सार्वजनिक गर्दै बैंकिङ ब्याजदर ११.५ प्रतिशत कायम गरेको छ । तर त्यो ब्याज पर्याप्त नरहेकोले एक्कल दरमा बैंकिङ ब्याजदर कायम गर्न रिजालले माग गरेका छन् ।
संघका अध्यक्ष रिजालले पत्रकार सम्मेलन मार्फत लेवलिङ फिर्ता सँगै देशको औद्योगिक तथा व्यापारिक समस्याको उठान गरेका छन् । रिजालले विद्यमान शिथिल आर्थिक अवस्थाका कारण पुर्नतालिकिकरण गरिएका ऋणहरुको समेत किस्ता भुक्तानी गर्न उद्योगी/व्यवसायीलाई समस्या भईरहेकोले किस्ता भुक्तानी गर्ने समयसिमा बढाउनु पर्ने माग गरेका छन् ।
संघका पूर्वअध्यक्ष खेमचन्द जैनले तेस्रो देशबाट नेपालमा आयात भईरहेको सुपारी कोटा खुल्ला गर्नुपर्ने माग गरेका छन् । सरकारले सुपारीको कोटा बन्द गर्दा चोरी तस्करीका बाटो हुँदै सुपारी नेपाल भित्रीरहेकोले सरकारको मोटो रकम राजश्व चुहावट भई रहेको छ । त्यसलाई रोक्न सुपारी कोटा खुल्ला गर्नुपर्ने जैनले माग गरेको छ । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा र संघका उपाध्यक्ष अनिल साहको सहभागिता रहेको थियो ।