- ब्रह्ममदेव यादव, विराटनगर ५५ पटक हेरिएको
बिहिबार, आश्विन २२, २०८३ समय : २२:०४:३६ , ६ घन्टा अगाडि
विराट व्यापार संघले विराटनगरको बजारलाई परनिर्भर बनाउन विराट ट्रेड फेयरको आयोजना गरेको सन्देश प्रवाह गरेको छ । उपभोक्ता माझ यो सन्देश प्रवाह गर्न विराट व्यापार संघको टिम ३ महिनादेखि काम गरिरहेका थिए ।

नेपालीहरूको मुख्य चार्ड पर्वको बेला सीमान्त क्षेत्र भारतको जोगबनी बजार गुल्जार हुने तर नेपालको विराटनगर बजार सुनसान हुने अवस्थालाई मध्यनजर गरेर विराट व्यापार संघले जोगबनीको बजारलाई सुनसान बनाउन र विराटनगरको बजारलाई चलायमान बनाउने उद्देश्यका साथ ७५ लाख रुपैयाँ खर्चेर विराट ट्रेड फेयरको आयोजना गरेका छन् ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले उपभोक्तालाई चाहिने गुणस्तर सामान उचित मूल्यमा विराटनगरको बजारबाट उपलब्ध गराउने र त्यसको सन्देश विराट ट्रेड फेयरबाट प्रवाह गर्न खोजेको बताए ।
अध्यक्ष जिन्दलले ९ दिने विराट ट्रेड फेयरमा १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुनुको साथै विराटनगर बजारमा १ अर्ब भन्दा बढी रुपैयाँ बराबरको कारोबार हुने लक्ष्यका साथ अगाडी बढेको बताए ।

विराट व्यापार संघले विराटनगरको जैन भवनमा आयोजना गरेको विराट ट्रेड फेयरको बिहीबार कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्टले उद्घाटन गरेका छन् ।

विराट व्यापार संघले आयोजना गरेको विराट ट्रेड फेयरको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष घनश्याम काबरा सहभागी थिए ।
उद्योगी तथा समाजसेवी बेनीगोपाल मुन्दडा, देवकिनन्दन अग्रवाल र उद्योगी श्रवण अग्रवाल विराट ट्रेड फेयरको उद्घाटन समारोहमा सहभागी थिए ।