- ब्रह्मदेव यादव, विराटनगर ५७१ पटक हेरिएको
सोमबार, साउन १५, २०८० समय : १६:५०:४० , १ वर्ष अगाडि
मारवाडी सेवा समिति विराटनगरको विधान किन संसोधन भएन ? यस विषयमा व्यापक चर्चा र बहस सुरु भएको छ । मारवाडी सेवा समिति सबै मारवाडी समुदायको जातिय संस्था हो । जातिय हक, हित र उत्थानकालागि एकिकृत रुपमा काम गर्ने समितिका पदाधिकारीहरुले संस्थामा गुट उपगुट चलाउन खोजेकोले विधान संसोधन हुन नसकेको हो ।
समितिले शनिबार विराटनगरमा आयोजना गरेको ३५औं साधारण सभामा पेश गरिएको विधान संसोधन प्रस्ताव माथि होहल्ला भएपछि विधान संसोधन प्रस्ताव अडकिएको हो । साधारण सभामा सहभागी समितिका अधिकांश सदस्यहरुले के–के विषयमा विधान संशोधन गर्ने हो । त्यस विषयमा समाज भित्र व्यापक छलफल र बहस नगरिकन समितिका पदाधिकारीहरुले गुट उपगुट चलाउने गरी एकतर्फी रुपमा ल्याईएको प्रस्तावलाई स्वीकार नगर्ने सर्त राखेकोले विधान संसोधन हुन नसकेको समितिका एक पदाधिकारीले बताए । समितिका पदाधिकारीहरुले सदस्यता वितरणमा उमेरहद घटाउनुपर्ने, शव बाहान र एम्बुलेन्स सञ्चालन गर्ने गरी प्रस्ताव ल्याएर विधान संसोधन गर्न खोजेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला समितिको सल्लाहकार रहने विधानले व्यवस्था गरेको छ । तर समितिका पदाधिकारीहरुले सल्लाहकार सिडियो यादव र मेयर कोइरालासँग कुनै किसिमको सरसल्लाह र छलफल नै नगरीकन साधारण सभामा विधान संसोधन प्रस्ताव ल्याएका थिए । समितिका सल्लाहकार सिडियो यादव र मेयर कोइराला साधारण सभामा उपस्थित पनि भएनन् ।
समितिको विधान परिवर्तन, संशोधन तथा परिमार्जन गर्न दुई तिहाई सदस्यको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । तर पदाधिकारीहरुले कोरम नै नपु¥याईकन साधारण सभा संचालन गरेकोले सदस्यहरु त्यसपति असन्तुष्ट व्यक्त गर्दै आपत्ती जनाएका थिए । मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवालाले १ महिना भित्र विशेष साधारण सभा बोलाएर विधान संसोधनको टुंगो लगाउने बताए । साधारण सभामा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, पूर्वअध्यक्ष मोहनलाल शर्मा, उपाध्यक्ष जुगल किशोर राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया, समाजसेवी भिखमचन्द सरल, पवन सुराना लगायतको सहभागिता रहेको थियो ।