- ब्रह्ममदेव यादव, विराटनगर ७३३ पटक हेरिएको
शनिबार, भाद्र १६, २०८० समय : १८:०८:३९ , १ वर्ष अगाडि
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विराटनगर आउने टंगो लागेको छ । श्रीराधाकृष्ण रथयात्रा समारोहमा सहभागिता जनाउन बालेन विराटनगर आउन लागेका हुन् । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भाद्र २१ गते बिहीबार विराटनगरमा श्रीराधाकृष्ण युगल जोडी सवार रथयात्रा निस्कने परम्परा रहेको छ ।
विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले भाद्र २१ गते बिहीबार एक दिनका लागि मात्रै बालेन शाह विराटनगर आउन लागेको जानकारी गराए । चिरफार डटकम सँग कुरा गर्दै विराटनगर महानगरापलिकाका मेयर नागेश कोइरालाले भने– भाद्र २१ गते बिहीबार बिहान बालेन काठमाडौंबाट विराटनगर आइपुग्ने छन् ।
विराटनगर महानगरपालिकाले विराटनगरमा आयोजना गर्न लागेको विकास सम्बन्धी कार्यक्रममा बालेन शाह सहभागि हुने छन् । विकास सम्बन्धी कार्यक्रममा नेपालका २४ र भारतका ७ गरेर ३२ भन्दा बढि मेयरहरुको सहभागिता रहने छ । जुन कार्यक्रममा बालेन शाहले काठमाडौंमा गरिरहेको विकास निर्माण सम्बन्धी कामको बारेमा जानकारी गराउने छन् । दिउँसो श्रीराधाकृष्ण रथयात्रामा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
विराटनगर महानगरपालिकाले नेपाल र भारतका मेयरहरुलाई विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्राको झाँकीको अवलोकन गराउने कार्यक्रम रहेको छ । र साँझपख पुनः बालेन विराटनगरबाट काठमाडौं फर्किने कार्यक्रम रहेको मेयर कोइरालाले बताए । बालेन शाह विराटनगर आउने पक्कापक्की भएपछि मोरङ प्रशासनले सोही अनुसार सुरक्षा व्यवस्था मिलाउने तयारीमा जुटेको छ ।