- ब्रह्मदेव यादव, विराटनगर ३७४ पटक हेरिएको
शुक्रबार, चैत्र ३०, २०८० समय : १७:२३:३२ , ६ महिना अगाडि
विराटनगरका वरिष्ठ समाजसेवी दिनबन्धु गोयलले सुनसरी चतराको कुम्भ मेलालाई १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाको चतरामा २०८० साल चैत्र २७ गतेदेखि २०८१ साल बैशाख २७ गतेसम्म एक महिने कुम्भ मेला सञ्चालन भई रहेका छन् ।
३० दिने कुम्भ मेलामा प्रत्येक दिन १/१ जना व्यक्तिले भक्तजनलाई खाना खुवाउने अभियान अन्तर्गत सहयोग गर्ने क्रम जारी छ । यसै क्रममा विराटनगरका वरिष्ठ समाजसेवी गोयलले कुम्भ मेला खाना व्यवस्थापन समितिका संयोजक मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष सुरेशकुमार शर्मा मार्फत भक्तजनलाई एक दिनको खाना खुवाउन १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत्र २७ गते कुम्भ मेलाको उद्घाटन गरेका थिए । कुम्भ मेलाको महत्वलाई बढाउन चतराधामको हनुमान मन्दिरमा संकटमोचन श्रीहनुमद् महायज्ञ सञ्चालन भई रहेका छन् । जगद्गुरू श्रीरामानन्दाचार्य सेवापिठ महायोगी सिद्धबाबाले महायज्ञ आयोजना गरेका छन् ।
चैत्र २७ गतेदेखि सुरु भएको महायज्ञ बैशाख ११ गते सम्पन्न हुनेछ । भारतको बागेश्वरधामका पिठाधीश धीरेन्द्र शास्त्रीले महायज्ञमा प्रवचन दिने कार्यक्रम छ । शास्त्री बैशाख ५ गते चतरा आइपुग्ने कार्यक्रम छ । सिद्धबाबाको पहलमा चतरामा २ सय करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको श्रीराम मन्दिरको बैशाख ५ गते शिलान्यासको कार्यक्रम रहेको छ ।