
- ब्रह्मदेव यादव, विराटनगर २३८९ पटक हेरिएको
शुक्रबार, माघ ११, २०८१ समय : १७:३५:४७ , ३ हप्ता अगाडि
उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गर्न लागेको ९ दिने विराट एक्स्पो २०२५ को तयारी पुरा भएको छ । उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गरेका छन् ।
संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले माघ १२ गते शनिबार विराट एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले २ हजार ५ सय विद्यार्थीहरूलाई करियर काउन्सेलिङ गर्न लागेको जानकारी गराए ।
विराट एक्स्पोमा रोजगार पेभिलियन कक्ष स्थापना गरेर विद्यार्थीहरूको बायोडाटा लिएर उनीहरूलाई औद्योगिक विज्ञ मार्फत प्रत्यक्ष तालिम प्रदान गर्ने बताए । साथै तालिम लिइसकेका विद्यार्थीहरुलाई सर्टिफिकेट दिएर रोजगार उपलब्ध गराउने संगठनको तयारी रहेको अध्यक्ष सुरानाले बताए ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरी २ सय ६८ वटा स्टल विराट एक्स्पोमा रहेको र सबै स्टलको बुकिङ भइसकेको बताए । वैदेशिक रोजगारका लागि विद्यार्थीहरू विदेश पलायन हुने क्रम बढेकोले केही हदसम्म त्यसलाई रोक्नको लागि विराट एक्स्पोको माध्यमबाट विद्यार्थीहरूलाई प्रत्यक्ष सीप मूलक तालिम उपलब्ध गराउने तयारी पुरा भएको वरिष्ठ उपाध्यक्ष राठीको भनाई छ ।
उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलाल (भोला) ले विद्यार्थीहरूलाई सीप मूलक तालिम दिएर सर्टिफिकेट उपलब्ध गराउँनुको साथै उनिहरुले माग गरे बमोजिमको रोजगारको ग्यारेन्टी निजी क्षेत्रले गर्न लागेको बताए । विराट एक्स्पोको मुख्य आकर्षक के अन्सारी नर्सरी रहेका छन् ।
विराट एक्स्पो घुम्न जाने जो कोहीले निःशुल्क रूपमा के अन्सारी नर्सरीमा सेल्फी फोटो खिचाउन पाउने छन् । उद्योग संगठन मोरङले २०७९ सालमा डिग्री क्याम्पसकै मैदानमा आयोजना गरेको विराट एक्स्पो रहेको के अन्सारी नर्सरीमा ५० हजार भन्दा बढी सर्वसाधारणले सेल्फी फोटो खिचाएका थिए । जुन फोटो सामाजिक संजालमा खुब चर्चा बटुलेको थियो ।
यस वर्ष सेल्फी फोटो खिचाउनेको संख्यामा वृद्धि हुने के अन्सारी नर्सरीका सञ्चालक सलिम अन्सारीले बताए । विराट एक्स्पोमा दोस्रो मुख्य आकर्षक भनेको माछा एकोरियम रहेका छन् । जुन माछा एकोरियम हेर्नको लागि टिकटको व्यवस्था गरिएको.छ । उद्योग संगठन मोरङले विद्यार्थीहरूका लागि विराट एक्स्पो अवलोकन गर्न निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।
विद्यार्थी पोसाकमा परिचय खुल्ने गरी विराट एक्स्पोको अवलोकन गर्न जाने विद्यार्थीलाई १० देखि २ बजेसम्म टिकट नलाग्ने व्यवस्था गरिएको छ । तर सर्वसाधारणको हकमा विराट एक्स्पो अवलोकन गर्न जानेलाई १० देखि ३ बजेसम्म १०० र त्यसपछि २०० रुपैयाँ टिकट दर कायम गरिएको छ ।