
- ब्रह्मदेव यादव, विराटनगर ८४२ पटक हेरिएको
आइतबार, बैशाख १४, २०८२ समय : १४:४९:१५ , ३ दिन अगाडि
विराटनगर भन्सार कार्यालयले चोरीको कारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । चोरीको कार महाराष्ट्र–गुजरात ट्रान्सपोर्ट कम्पनीको रहेको विराटनगर भन्सार कार्यालयले जानकारी गराएको छ । जोगबनीका दिलीप चौधरी भनिने दिलीप प्रमाणितले महाराष्ट्र–गुजरात ट्रान्सपोर्ट कम्पनी सञ्चालन गरिरहेका छन् ।
चौधरीले ट्रान्सपोर्टको अवैध गतिविधिलाई बढावा दिने उद्देश्यका साथ चोरीको कार मार्फत विराटनगर भन्सार कार्यालयको परिसरबाट बहुमूल्य सामान ओसार पोसार गरिरहेका थिए । विशेष सूचनाको आधारमा चौधरीले प्रयोग गरिरहेको चोरीको कारलाई विराटनगर भन्सार प्रशासनले शुक्रवार नियन्त्रणमा लिएर सशस्त्र प्रहरी गुल्म रानीलाई जिम्मा लगाएको छ ।
सशस्त्र प्रहरी बल रानी गुल्मका प्रमुख डिएसपी रिसिकेश राउतले भारतीय नम्बर रहेको कारको कागजात नमिलेको कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । कारको नम्बर WB 74 S 1462 उल्लेख गरेको भएपनि कागजातमा अकै नम्बर रहेकोले अनुसन्धान पेचिलो बनेको बताए ।
चोरीको कार मार्फत ट्रान्सपोर्टको अवैध कारोवारलाई बढावा दिई रहेका महाराष्ट्र–गुजरात ट्रान्सपोर्ट कम्पनीका सञ्चालक दिलीप चौधरी सम्पर्कमा आउन मानेनन् । महाराष्ट्र–गुजरात ट्रान्सपोर्ट कम्पनीले आयात निर्यात गरिरहेको उद्योगी तथा व्यापारी प्रतिष्ठानको सामान भन्सार कार्यालयमा जाँच पास भइसेकेपछि चौधरीले चोरीको कार मार्फत अवैध बहुमूल्य सामान मिसाएर पठाउने गरेका थिए ।
लामो समयदेखि ट्रान्सपोर्टको अवैध कारोबारमा संलग्न चौधरीको शंकास्पद गतिविधि बारे विराटनगर भन्सार प्रशासन र सशस्त्र प्रहरी बल रानी गुल्मले विशेष अनुसन्धान सुरु गरेको छ ।