- ब्रह्मदेव यादव, विराटनगर ३७२ पटक हेरिएको
शुक्रबार, माघ ०९, २०८२ समय : १५:४९:१५ , १५ घन्टा अगाडि
उद्योग संगठन मोरङले उद्योग नीतिबारे पार्टीको धारणा सार्वजनिक गर्न राजनीतिक दललाई आग्रह गरेका छन् ।
उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको निजी क्षेत्र, प्रश्न, पहिचान र प्रतिबद्धता विषयक अन्तरक्रियात्मक छलफल कार्यक्रममा अध्यक्ष नन्दकिशोर राठीले उद्योग नीतिबारे प्रतिबद्धता जनाउन राजनीतिक दललाई आग्रह गरेका छन् ।

अध्यक्ष राठीले कार्यक्रममा सहभागिता जनाएका विशिष्ट व्यक्तिदेखि आगन्तुकहरूलाई स्वागत गर्दै देशको आर्थिक विकासका लागि राजश्व मार्फत योगदान पुर्याइरहेको निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तनको आवश्यकता रहेको बताए ।
राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिमार्जन नगरेसम्म देश संवृद्ध हुन नसक्ने अध्यक्ष राठीले बताए ।
अध्यक्ष राठीले उद्योग व्यापार गरेर राज्यलाई राजश्व बुझाउँदै आइरहेको निजी क्षेत्रमाथि आक्रमण भइरहँदा राज्य टुलुटुलु हेरेर बसेको कारण नयाँ लगानी भित्रिने वातावरण बन्न नसकेको बताए ।

२०८२ भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा निजी क्षेत्र माथि जुन हमला र आक्रमण भयो, त्यसको कारण निजी क्षेत्रको मनोबल गिरेको अवस्थामा आगामी प्रतिनिधि सभाको निर्वाचन मार्फत राज्य सञ्चालनको जिम्मेवारी लिन लागेका राजनीतिक दलबाट उद्योग नीतिबारे प्रतिबद्धता आउने उद्देश्यका साथ छलफल कार्यक्रम आयोजना गरिएको अध्यक्ष राठीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा उद्योग संगठन मोरङका पूर्व अध्यक्ष राष्ट्रिय व्यवसायी पहलका केन्द्रीय संयोजक किशोरकुमार प्रधानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दललाई चन्दा नदिन उद्योगी व्यवसायीलाई सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, नेपाल राष्ट्रिय बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष तथा संविधान सभा सदस्य पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु, उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, पूर्वअध्यक्ष सुयस प्याकुरेल र मुकेश उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कार्यकारिणी समिति सदस्य तथा राजश्व परामर्श समितिका संयोजक देवकिनन्दन अग्रवाल, कार्यक्रममा सहभागी भएका थिए ।
उद्योग संगठन मोरङले आयोजना गरेको समूहगत छलफल कार्यक्रममा नेपाल राष्ट्रिय बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, एनिटाइम बारका प्रबन्ध निर्देशक सिद्धि अधिकारी सहभागी भएका थिए ।