अर्को मुद्दामा पक्राउ पर्ने डरले अभिषेक गिरीले बुझाएनन् ५ लाख धरौटी

  • चिरफार डटकम, विराटनगर १२०  पटक हेरिएको

बुधबार, साउन २०, २०८३ समय : १६:०३:३६ , १ घन्टा अगाडि

मोरङ प्रहरीले अवैध असुलीबारे पक्राउ गरी मुद्दा चलाउने तयारी गरेपछि अभिषेक गिरीले ५ लाख रुपैयाँ धरौटी नबुझाई काठमाडौँको डिल्ली बजार कारागारको बसाई रोजेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको नियन्त्रणमा रहेका विराटनगरका गिरीलाई काठमाडौँ जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

विराटनगरका ४८ वर्षीय गिरीलाई सीआइबीको विशेष टोलीले असार २३ गते विराटनगरबाट पक्राउ गरेर काठमाडौँ पुर्‍याएका थिए । निर्माण व्यवसायी सुवास श्रेष्ठको उजुरीको आधारमा सीआइबीले गिरीलाई पक्राउ गरेका थिए ।

सीआइबीको अनुसन्धानले गिरीले निर्माण व्यवसायी श्रेष्ठबाट २१ करोड ३२ लाख रुपैयाँ ठगी गरेको दाबी सहित मुद्दा चलाउन राय सहितको प्रतिवेदन काठमाडौँ जिल्ला अदालतमा बुझाएका थिए ।

काठमाडौँ जिल्ला अदालतका  न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएका थिए ।

मोरङ प्रहरीले अवैध लेनदेन र असुली बारे किटानी जाहेरीको आधारमा गिरीलाई काठमाडौँबाट पक्राउ गरेर विराटनगर ल्याई मुद्दा चलाउने तयारी गरेपछि उनी प्रहरीको खोरमा बस्नु भन्दा डिल्ली बजार कारागारको बसाई नै रोजेका छन् ।

मोरङमा गिरीले अवैध लेनदेन र असुलीबारे कुरा मिलाइ सकेपछि काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुने तयारी गरिरहेको उनी निकट समाचार सूत्रले जानकारी गराएको छ ।