मुन्दडाको घरमा प्रहरीको छापा, ‘क्लिन चिट’ दिएर फर्किए सी.आई.बी. को टोली

  • चिरफार डटकम, विराटनगर १७०  पटक हेरिएको

सोमबार, साउन १८, २०८३ समय : १७:२२:३४ , १ घन्टा अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सी.आई.बी.) को विशेष टोलीले सोमबार विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा छापा मारेको छ ।

नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सी.आई.बी.को टोलीले उद्योगी मुन्दडाको घरमा ठुलो परिमाणमा नगद सहित सुन र चाँदी रहेको गोप्य सूचनाको आधारमा छापा मारेको हो ।

काठमाडौँबाट विराटनगर आइपुगेको सी.आई.बी.को विशेष टोलीले मोरङ प्रहरी सँग सहकार्य गरेर सोमबार विराटनगर–७ स्थित मुन्दडाको घरमा छापा मारेको हो । उद्योगी मुन्दडाको घर भएको गोश्वरा रोडको प्रवेशद्वार गोल्छा चौकदेखि बाहिर निस्कने द्वार सिडियो कार्यालयसम्मको सडक खण्डलाई नियन्त्रणमा लिएर छापा मारेका थिए ।

मुन्दडाको घरमा छापामारी भइरहँदा गोश्वरा रोड प्रहरीको छाउनीमा परिणत भएको थियो । सी.आई.बी.को टोलीले उद्योगी मुन्दडाको घरमा रहेको पानीट्याङ्कीदेखि पुजा कोठा र भान्सा घरसम्मको खानतलासी गरेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी गराए ।

उद्योगी मुन्दडाको घरमा कुनै प्रकारको अवैध सामग्री नभेटिए पछि क्लिन चिट दिएर सी.आई.बी.को टोली फर्किएको एसपी कटवालले बताए । सोमबार बिहान २ बजेदेखि ९ः३० बजेसम्म सी.आई.बी.को टोलीले मुन्दडा घरको खानतलासी लिएको एसपी कटवालले बताए ।

नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघ विराटनगरका पूर्व अध्यक्ष उद्योगी मुन्दडाले मिसइन्फर्मेसनको आधारमा आफ्‌नो घरमा छापा मारिएको र कुनै प्रकारको सामग्री नभेटेपछि सी.आई.बी.को टोली क्लिन चिट दिएर फर्किएको बताए ।

विराटनगरको मुन्दडा ग्रुपले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल लगायत आधा दर्जन भन्दा बढी उद्योग सँगै व्यापारिक प्रतिष्ठान सञ्चालन गरिरहेको छन् । उद्योगी मुन्दडाको घरमा भएको छापामारी प्रति विराटनगरको निजी क्षेत्रले आपत्ति जनाएको छ ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा, मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रलाई आतंककारी ठानेर राज्यले गरेको खानतलासी प्रति असन्तुष्टि जनाएको छ ।