अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रक्तदान र निःशुल्क आँखा जाँच शिविर

  • चिरफार डटकम, विराटनगर १३६  पटक हेरिएको

आइतबार, माघ ११, २०८२ समय : १७:०८:४४ , ४ घन्टा अगाडि

७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार एजेन्ट संघले आइतबार रक्तदान र निःशुल्क आँखा जाँच शिविर गरी दुई बेग्लाबेग्लै कार्यक्रम आयोजना गरेका छन् ।

रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले रक्तदान गरेका छन् । निःशुल्क आँखा जाँच शिविरमा १ सय ३ जनाले आँखाको परीक्षण गराएका छन् ।

आँखाको परीक्षण गराएका मध्ये १ जनाको आँखामा मोतियाबिन्दु रोग देखिएकोले उनको निःशुल्क रूपमा आँखाको शल्यक्रिया गराइदिने विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले जानकारी गराए ।

विराटनगर भन्सार एजेन्ट संघले मारवाडी युवा मञ्च विराटनगरसँग सहकार्य गरेर रामलाल गोल्छा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेका थिए ।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी र मञ्चका सचिव उद्योगी पवन पंकज पारखले निःशुल्क आँखा जाँच शिविरमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्मा र कार्यक्रम संयोजक सुरेश बोहराले रक्तदान गर्ने रक्तदाताहरूलाई प्रशंसा–पत्र प्रदान गरेका थिए ।

विराटनगर भन्सार कार्यालयले माघ १२ गते सोमबार भव्य समारोहको आयोजना गरेर ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने कार्यक्रम रहेको छ ।