- चिरफार डटकम, विराटनगर १२९ पटक हेरिएको
बिहिबार, साउन ०७, २०८३ समय : १७:३१:११ , ८ घन्टा अगाडि
कोशी प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई बाहिर निकालेर नेकपालाई सरकारमा भित्र्याउने आन्तरिक तयारी सुरु गरेको छ ।
यो तयारी सँगै एमाले र कांग्रेसको सत्ता साझेदारीमा पूर्णविराम लागेको छ । २०८१ भाद्र २८ गतेदेखि कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरिरहेको छ ।
एमाले र कांग्रेसले कोशी प्रदेशमा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भद्र सहमति गरेका थिए । भद्र सहमति अनुसार नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की सरकारको नेतृत्व गर्दै करिब ३ वर्ष मुख्यमन्त्री चलाइ सकेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको मुख्यमन्त्री बन्ने पालो आएपछि एमालेले राजनीतिक बेइमानी गरेको छ । र मुख्यमन्त्री पदका लागि कांग्रेसलाई सरकारबाट बाहिर निकालेर नेकपालाई सरकारमा भित्र्याउने आन्तरिक तयारी सुरु गरेको छ ।
अबको केही दिन भित्र कोशी प्रदेशमा सरकार परिवर्तन हुने र एमालेका हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बन्ने राजनीतिक कोर्ष अगाडी बढेको छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेको ४० र नेकपाको १७ सांसद रहेका छन् । बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्छ । एमाले र नेकपासँग बहुमत भन्दा १० सिट बढी छ । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९ जना सांसद रहेका छन् ।
नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच बस्ने आगामी बैठकले कोशी प्रदेश सरकारको बारेमा टुङ्गो लगाउने छ ।