चैत २८ गतेदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता

  • ब्रह्मदेव यादव, विराटनगर ४०६  पटक हेरिएको

बुधबार, चैत्र २५, २०८२ समय : १४:०३:०८ , ३ दिन अगाडि

यही चैत २८ गते शनिवारदेखि विराटनगरमा ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । २०८३ बैशाख ५ गते शनिवार प्रतियोगिताको फाइनल खेल हुनेछ ।

विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले बुधवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रष्टका पदाधिकारीहरूले १ करोड ५ लाख रुपैयाँ खर्च गरेर प्रतियोगिता आयोजना गर्न लागेको बताए । यस वर्ष विराट गोल्डकप फुटबल ट्रष्टले आफै फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।

विराटनगरको नोबेल मेडिकल कलेज प्रतियोगिताको टाइटल स्पोन्सर रहेको छ । नोबेलले प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नको लागि ११ लाख रुपैयाँ सहयोग गरेको छ । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले भारतको एक र नेपालको ८ गरी प्रतियोगितामा ८ टिमको सहभागिता रहेको बताए ।

नेपाल पुलिस क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, नेपाल एपीएफ फुटबल क्लब काठमाडौँ, चर्च ब्याइज फुटबल क्लब काठमाडौँ, सम्राट फुटबल क्लब विराटनगर, झापा–११ फुटबल क्लब झापा र भारतको अल झारखण्ड विर्शामुण्डा फुटबल एकेडेमी झारखण्डले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमले ११ लाख र उपविजेता टिमले ५ लाख रुपैयाँ नगद सहित शिल्ड प्राप्त गर्ने छन् । विराटनगरस्थित शहिद रंगशालाको खेल मैदानमा साँझको ६ बजेदेखि प्रतियोगिता सञ्चालन हुनेछ । दिवा रात्रिकालीन प्रतियोगिता फर्ड लाइटमा सञ्चालन हुने अध्यक्ष शाहीले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष एवं विराट गोल्डकप फुटबल ट्रष्टका ट्रष्टि उद्योगी राजेन्द्र राउतले बुधवार विराट गोल्डकप फुटबल ट्रष्टका पदाधिकारीसँग छलफल गर्दै विराट गोलडकप फुटबल प्रतियोगिता घाटामा गयो भने केही प्रतिशत रकम आफूले उपलब्ध गराउने बाचा गरेका छन् ।