- ब्रह्मदेव यादव, विराटनगर २८६ पटक हेरिएको
आइतबार, आषाढ १४, २०८३ समय : १३:१४:१८ , १ दिन अगाडि
नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिको कार्यालय विराटनगर ६औं वर्षमा प्रवेश गरेको छ । ६औं वर्ष प्रवेशको अवसरमा नेपाल उद्योग परिसंघ कोशीले आइतबार विराटनगरमा ३ महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्यो ।
नेपाल उद्योग परिसंघ कोशीले विराटनगरको बरगाछी चौकमा निर्माण गरेको पुष्प बाटिकामा वृक्षारोपण, रक्तदान र अपाङ्गता भएका ७ वर्षीय बालक सुवान चौधरीलाई ह्वील चियर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत मोरङ कटहरी–१ का सुवान चौधरीलाई प्रदान गरिएको ह्वील चियर परिसंघले काठमाडौँबाट मगाएको हो ।
नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष एवं संविधान सभाका सदस्य पवनकुमार सारडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्ष दीपक पौडेल, गिरिजा सारडा, सुशिलकुमार जोशी र देवेन्द्र गुप्ता, कोषाध्यक्ष साकेत राठी, महानिर्देशक विजयहरी शर्मा सहित समितिका सदस्यहरू पुष्पवाटिकामा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए ।

६औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष पवनकुमार सारडाले भीम घिमिरेले स्थापना गरेको संस्था फल दिने अवस्थामा पुगेको बताए । म संस्थामा अध्यक्ष रहेको छु । तर म भन्दा बढी संस्थामा भीम घिमिरेको देन रहेको अध्यक्ष सारडाले बताए ।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरेले नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि निर्माण गरेको बजेटमा नेपाल उद्योग परिसंघले दिएको ६५ प्रतिशत सुझाव समेटिएको बताए ।

सङ्घीय सरकारको बजेटमा निजी क्षेत्रले दिएको सुझाव मध्ये १ सयमा ६५ प्रतिशत सुझाव नेपाल उद्योग परिसंघको समेटिएको केन्द्रीय उपाध्यक्ष घिमिरेले बताए । कार्यक्रममा अध्यक्ष सारडा, वरिष्ठ उपाध्यक्ष मुन्दडा सहितका पदाधिकारीहरूले केन्द्रीय उपाध्यक्ष घिमिरेलाई सम्मान गरेका थिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले उपाध्यक्ष दिपक पौडेललाई संयोजकको जिम्मेवारी दिएर तीनवटै कार्यक्रम आयोजना गरेका थिए ।